समाज

स्वच्छ ऊर्जा उत्पादन क्षमता वृद्धिमा जोड

स्वच्छ ऊर्जा उत्पादन क्षमता वृद्धिमा जोड

काठमाडौं । सरोकारवालाहरुले दिगो विद्युत् उत्पादनलाई स्वच्छ ऊर्जाको उत्पादन क्षमता वृद्धिमा जोड दिएका छन् । 

शुक्रबारदेखि शुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनको पाँचौँ समानान्तर सत्रअन्तर्गत ‘भविष्यको ऊर्जाः स्वच्छ ऊर्जाको सदुपयोग’ विषयमा बोल्दै उनीहरुले ऊर्जा उत्पादन बढाएर निर्यात प्रवद्र्धनका लागि स्वच्छ ऊर्जाको सदुपयोग बढाउन आवश्यक रहेको बताएका हुन् । 

सत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जलवायुजन्य चुनौतीका कारण पानीको स्रोत घट्ने र जलविद्युत् उत्पादनमासमेत असर पुग्ने बताए । “जाडो याममा पानीको स्रोत घट्दा नै नेपालले ऊर्जा भारतबाट आयात गरेर विद्युत् आपूर्ति गराएका छौँ”, उनले भने, “अर्को समस्या भनेको प्रसारण लाइन जडानकै क्रममा धेरैजसो स्थानीय प्रतिरोधको सामना गर्नुपरेको छ, सर्वसाधारणहरु प्रसारण लाइन चाहन्छन्, तर आफ्नै घर अगाडि र पछाडि होइन, अब त्यसलाई कसरी प्रवद्र्धन गर्ने ?”

शाक्यले उद्योगहरूलाई विद्युतीकरण गर्नका लागि भरपर्दो ऊर्जा आवश्यक रहेको बताए । नेपालको प्रसारण प्रणाली निकै कमजोर रहेको भन्दै उनले भने, “हिजो साँझ मात्रै धेरैपटक लाइन काटियो, किनभने हाम्रो प्रसारण प्रणाली निकै कमजोर छ, एउटा लिङ्क बिग्रिएपछि सिङ्गो प्रणाली नै बन्द हुन्छ ।”

अहिले प्रसारण सञ्जालमा निजी क्षेत्रको सहभागिता पनि खोजिएका र यसका लागि नियामक संरचना आवश्यकपर्ने उनको भनाइ छ । “निजी क्षेत्रलाई कसरी समावेश गर्ने भन्ने विषय महत्वपूर्ण छ, नेपाल विद्युत् प्राधिकरणसँग पर्याप्त वित्तीय स्रोत छैन, त्यसैले निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ”, शाक्यले भने । 

यसैगरी काठमाडौं विश्वविद्यालयका उपकुलपतिका डा. अच्युतप्रसाद वाग्लेले  हरित ऊर्जा उत्पादन र प्रयोग प्रवद्र्धन गर्न निजी क्षेत्र र सरकारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । “अहिले हामी न्यूनतम ऊर्जा आवश्यकतालाई पूरा गर्न चाहन्छौँ, तर लगानी कहाँबाट जुट्छ ? त्यसैले लगानीका नयाँ स्रोत पहिचान गर्नु अत्यावश्यक छ, केबल सार्वजनिक लगानीको भरमा मात्र यसो सम्भव हुँदैन”, उनले भने, “हरित जलवायुमैत्री लगानीका अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनका लागि जोड दिनुपर्छ ।”

जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण प्रभाव कार्य प्लेटफर्म केन्याका निर्देशक डा. अदिति मुखर्जीले उच्चस्तरीय क्षमता विकास, प्रविधि हस्तान्तरण र समुदायलाई ऊर्जा रूपान्तरणको केन्द्रमा राख्नुपर्नेमा जोड दिए । “हिन्दकुश हिमालय क्षेत्रभर जलविद्युत्सम्बन्धी उदाहरणमा नेपाल सबैभन्दा सकारात्मक र उत्कृष्ट उदाहरणमध्ये एक बनेको देखिएको छ, ग्रामीण समुदायसँग रोयल्टी साझेदारी गरिएका उदाहरण छन्, ग्रामीण समुदायले जलविद्युत्मा प्रत्यक्ष साझेदारी पाएको उदाहरण पनि छ, यी सबै न्याय सङ्गत ऊर्जा रूपान्तरणमा समुदायलाई कसरी समावेश गर्न सकिन्छ भन्ने उत्कृष्ट अभ्यासका नमुना हुन्”, उनले भने। 

अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीका महानिर्देशक फ्रान्चेस्को ला क्यामेराले सौर्य ऊर्जाजस्ता नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि सार्वजनिक कोष स्थापनामा जोड दिए । उनले भने, “उदाहरणका लागि, सौर्य ऊर्जा बिक्रीबाट आउने नियमित आम्दानीको केही हिस्सा सार्वजनिक कोषमा राख्ने र त्यो कोषबाट समाजका विपन्न वर्गलाई सहयोग गर्नुपर्छ, उनीहरुले सुरुआतमै फाइदा लिन सक्दैनन् वा सहरमा हुने ग्रिड प्रणाली विकासबाट पछि पर्ने खतरा हुन्छ ।”

सत्रको सहजकर्ता समेत रहेका एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक शोभाकर ढकालका अनुसार स्वच्छ ऊर्जाको सदुपयोग भनेको सौर्य, वायु, जलविद्युत्, भू–तापीय र बायोमासजस्ता नवीकरणीय ऊर्जा स्रोतको उपयोग गरी समाजलाई ऊर्जा प्रदान गर्ने, जीवाश्म इन्धन माथिको निर्भरता घटाउने, जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने र दिगो विकास हासिल गर्ने लक्ष्य राखेको एक विश्वव्यापी प्रयास रहेको बताए । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *