काठमाडौ । अर्थ मन्त्रालयले विदेशी मुद्रा राख्ने सम्बन्धमा प्रचलित कानुनबमोजिम तोकिएको सीमा उल्लङ्घन नगर्न सबैलाई सचेत गराएको छ । मन्त्रालयले बुधबार राति सामाजिक सञ्जाल ’एक्स’ (ट्विटर) मार्फत् जानकारी दिँदै १५ सय अमेरिकी डलर वा त्यस बराबरको परिवत्र्य विदेशी मुद्रा मात्र नगदमा राख्न पाउने उल्लेख गरेको हो ।
विदेश भ्रमणबाट फर्किँदा वचत भएको वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा पनि सोही सीमाभित्र मात्र राख्न पाइनेछ । रामेश्वर खनाल अर्थमन्त्री भइसकेपछि मन्त्रालयले वित्तीय अनुशासन कायम गर्न र अनुत्पादक खर्च नियन्त्रण गर्न कडा नीति कार्यान्वयन थालेको छ । त्यसक्रममै मन्त्रालयको पछिल्लो नियामक निर्देशन आएको हो ।
यसैगरी, नेपाल आउने नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलर वा सो बराबरको रकम भन्दा बढी ल्याएमा भन्सारमा घोषणा गर्नुपर्ने मन्त्रालयले जनाएको छ । तर, ५ हजार डलर वा सो बराबरको रकमसम्म भने घोषणा नगरी ल्याउन सकिनेछ ।
अर्थ मन्त्रालयले स्रोत खुलेको रकमलाई नगदमै आफ्नो अनुकूल स्थानमा सुरक्षित राख्न वा प्रयोग गर्नमा कुनै अवरोध नभएको जनाउँदै स्रोत नखुलेको रकम भने सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार छानबिनको दायरामा पर्ने उल्लेख गरेको छ ।
विदेशी मुद्रा व्यवस्थापन सम्बन्धी प्रचलित कानुनअनुसार तोकिएको सीमाभन्दा बढी रकमको कारोबार बैंकिङ माध्यमबाट मात्र गर्नुपर्ने व्यवस्था छ । यसअघि पनि नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमन) ऐन, २०१९ अनुसार विदेशी मुद्राको कारोबार, भुक्तानी, ओसारपसार र उपयोगमा कडाइ गरिएको छ । अर्थ मन्त्रालयले यस्ता कानुनी प्रावधानको पालना नगरे कारबाहीको दायरामा पर्ने चेतावनी दिएको छ ।