काठमाडौ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भारी वर्षा र बाढी पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको एक खण्डमा रात्रिकालीन सवारी संचालनमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय आज सूचना जारी गर्दै २०८२ असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमनमा रोक लगाएको जनाएको छ ।
प्रशासनले पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
यो प्रतिबन्ध बीपी राजमार्गको काभ्रे भञ्ज्याङ्ग–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा लागु हुनेछ ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बाढी पहिरोको उच्च जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अपनाउन भन्दै सबै जिल्लावासी र सम्बन्धित निकायहरूलाई पूर्वतयारीमा जुट्न अनुरोध गरेका छन् ।