काठमाडौं । एमाले पार्टीको अभ्यासमा विगतमा केन्द्रीय कमिटी लगायतका बैठकहरूको सुरूवात महासचिवले गर्थे । अध्यक्षलाई अध्यक्षताका लागि अनुरोध गर्थे । त्यसपछि अध्यक्षले उद्घाटन मन्तव्य दिन्थे । अध्यक्षले आफ्नो धारणा राखेपछि बैठकका लागि तय गरिएका नियमहरूका आधारमा बैठक चल्थ्यो ।
वर्षौंदेखि एमालेका केन्द्रीय बैठकहरूमा सहभागी हुँदै आएका नेताहरूका लागि सोमबारको बैठक भने नौलो रह्यो । अध्यक्ष केपी शर्मा ओलीले आफैं बैठकको सुरुवात गरे । उद्घाटन मन्तव्य दिए । मन्तव्यका क्रममै उनले बैठकमा अनुशासनको पाठ पढाए । त्यसपछि आफ्नो प्रतिवेदन आफैं पढे । बैठकको अन्त्य गरेर हिँडे । विगतमा उनी यसो गर्दैनथे ।
महासचिवले नै बैठक सञ्चालन गर्थे । प्रतिवेदन पढ्नका लागि पनि ओलीले अन्य नेतालाई नै जिम्मेवारी दिने गरेका थिए । तर आज ओली फरक देखिए- केन्द्रीय कमिटीको बैठकमा एकल प्रस्तुति दिएर हिँडे । ओलीको यो शैलीको नेता कृष्णगोपाल श्रेष्ठले बैठकमै प्रतिरोध गरे । विगतको अभ्यास सम्झाउँदै ओलीलाई श्रेष्ठले महासचिवले बैठक चलाउनुपर्ने बताएका थिए ।
तर अध्यक्ष ओलीले उनलाई बोल्न दिएनन् । ओलीले विधान हेरेर आउनुहोस् भन्दै श्रेष्ठलाई उल्टै चेतावनी दिए । बैठकमा सहभागी नेताहरूका अनुसार यस्तो अवस्थामा भएपछि श्रेष्ठ बैठकबाटै बाहिरिए ।
ओलीले सोमबारको बैठकमा नेताहरूलाई बैठकमा बोल्ने र आफ्ना कुरा राख्ने अनुशासनबारे निर्देशन दिएका थिए । अध्यक्षले चाहेको बेलामा बोल्न दिने,तीन मिनेटको समय तोक्ने, बोल्दाबोल्दै अध्यक्षलाई लागेका रोक्न सक्ने लगायतका निर्देशन उनले बैठकमा दिएका थिए ।
उनले बैठकमा केन्द्रीय सदस्यहरूलाई बैठकमा अनुशासनको निर्देशन दिँदै भने- भोलिबाट मोबाइल बाहिर राख्नुपर्नेछ । मोबाइल रेकर्ड मोडमा राख्न पाइने छैन । आसन छोड्दा अध्यक्षको अनुमति लिनुपर्नेछ ।बोल्नुपर्दा अध्यक्षको ध्यानाकर्षण गराएर मात्रै बोल्नुपर्नेछ । विशेष परिस्थितिमा अध्यक्षलाई लागेमा समय फेरफेर हुनसक्नेछ ।’
उनले स्वयंसेवकहरूले पनि निर्देशन दिए । ओलीले भने- तपाईंहरूको भूमिका एकदमै तटस्थ र निष्पक्ष हुनुपर्छ। कुनै प्रकारको आकार, प्रकार, चिह्न, सङ्केत वा इसारा गर्ने काम हुनु हुँदैन। राजनीतिक प्राणी भएकाले विचारमा केही लागेको हुन सक्छ, तर त्यो भावना अनुहारमा प्रतिबिम्बित हुनु हुँदैन। बैठकमा कुनै डिस्टर्ब नहुने गरी निश्चित दूरीमा बसेर केन्द्रीय कमिटीका सदस्यहरूलाई आवतजावत गर्न र विचार व्यक्त गर्न कुनै व्यवधान नपुग्ने वातावरण बनाउनुपर्छ। भोलेन्टियरहरूले अध्यक्षको निर्देशन पूर्ण रूपमा पालना गर्नुपर्नेछ।’
बैठकमा सहभागीहरुलाई बोल्ने कुरामा ओलीले जसरी लगाम लगाउने निर्देशन दिए त्यो निकै अनौठो थियो । ‘हामीले यस्तो कहिल्यै देखेका थिएनौं’ एक केन्द्रीय सदस्यले भने,’यहाँ आफू बाहेक अरुलाई केही ठान्नुहुन्न । जे गर्दा पनि हुन्छ भन्ने छ ।’
ओलीले किन यस्तो गरे त ? किनकी उनी अहिले पार्टीभित्र रक्षात्मक अवस्थामा छन् । पार्टीको पदाधिकारी तहमा उनी नेतृत्वबाट हट्नुपर्ने दबाब छ । त्यही दबाबका कारण पार्टी पुनर्गठन गरेर जानुपर्ने माग बढेको छ । तर ओली नेतृत्वबाट हट्ने र पार्टी पुनर्गठन गर्न तयार छैनन् ।
त्यसैले पदाधिकारी भन्दा ठूलो निकायका केन्द्रीय कमिटीमा उनी आफ्नो शक्ति प्रदर्शन गर्न चाहन्छन् । केन्द्रीय कमिटीमा उनलाई साथ दिने संख्या अलिक ठूलो छ । त्यसैले उनले पार्टी बैठकको बहस अन्तत्रै मोडिएला भनेर सोमबार बैठकमा महासचिव लगायत अन्य पदाधिकारीलाई अघि सारेनन् आफैं बैठक चलाए । यो बैठक चलाउनुलाई उनले विधानको व्यवस्थासँग जोडेका छन् ।
गत वर्ष एमालेको विधान अधिवेशनले अध्यक्षलाई शक्तिशाली रुपमा अधिकार प्रदान गरेको थियो । यति सम्मकी बैठक सञ्चालन गर्ने अधिकार पनि अध्यक्षमा नै ल्याइएको थियो । त्यो अधिकारको उनले आज बैठकमा प्रयोग गरे । जहाँ महासचिव लगायतका अन्य पदाधिकारी निरीह बस्ने अवस्था आयो ।
‘विधान महाधिवेशनमा अध्यक्षलाई शक्तिशाली बनाएको परिणाम आज देखियो’ एक नेताले भने,’ सबै अधिकार अध्यक्षमा केन्द्रित गरिएको थियो । आज कृष्णगोपाल श्रेष्ठले विगतको अभ्यास सम्झाउँदा अपमानित भएर बैठक नै छोडेर जानुपर्ने अवस्था आयो ।’ ओली र श्रेष्ठबीच सवालजवाफ चल्दा अरु केन्द्रीय सदस्यले त्यसको प्रतिवाद गरेनन् ।
ओलीले आफ्नो राजनीतिक प्रतिवेदनको संक्षिप्त स्वरुप पेश गरे । अब मंगलबारबाट बैठकमा तीन मिनेटको समय तोकेर बोल्न दिने भनेका छन् ।
ओलीलाई नेतृत्व छोड्नुपर्ने माग उठेपछि पार्टीले रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको प्रतिवेदन ओलीले बुझेका छन् । तर उनले यो बैठकमा उक्त प्रतिवेदन पेश गर्ने छैनन् । उनले सोमबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि मात्र छलफल हुनेगरी बैठकको एजेण्डा तय भएको छ ।
ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा चाहिँ कुनै हालतमा नेतृत्व नछोड्ने धारणाहरू छन् । उनले बैठकको उद्घाटन सत्रमै आफू र एमालेमाथि फासीवादी आक्रमण भइरहेको बेलामा पार्टीभित्रैबाट अध्यक्षलाई कमजोर पार्ने प्रयास भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
उनको आक्रोशको तह कति छ भन्ने उनले पेश गरेको राजनीतिक प्रतिवेदनमा पनि झल्किन्छ । उनले राष्ट्रिय राजनीतिदेखि पार्टी भित्रका समस्या र आगामी कार्यभार सम्मका धारणा समेटेर ल्याएको प्रतिवेदनमा उनले इतिहासमा पार्टी कसरी पुनर्गठन भएका थिए भन्ने दृष्टान्त समेत पेश गरेका छन् ।
केशरजंग रायमाझीको दरबार प्रवेश देखि झापा आन्दोलन देखि २०७५ साल सम्म विगतका तीनवटा पुनर्गठनका घटनालाई सन्दर्भमा ल्याएर उनले अहिलेको अवस्था त्यस्तो त्यस्तो नभएको उल्लेख गरेका छन् ।
”के हो पुनर्गठन? कस्तो अवस्थामा हुन्छ ? के नेतृत्व विस्थापन गर्ने कुरालाई पुनर्गठन भनिन्छ? हाम्रो धारको आन्दोलनमा कति पल्ट र कहिले कहिले पुनर्गठन भएको छ भन्ने कुरा हामीले राम्ररी बुझ्न जरुरी छ। पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय होइन’ ओलीले प्रतिवेदनमा भनेका छन् ।
उनले विगतमा भएका पार्टी पुनर्गठन र अहिलेको परिस्थिति एउटै नभएको तर्क गरेका छन् । ‘यति बेला चले, चलाइएको पुनर्गठनको हल्लाले शब्दार्थ वा भावार्थ केही पनि बोक्दैन र औचित्य, आवश्यकता र समय सन्दर्भसँग पनि विल्कुलै मेल खाँदैन’ ओलीले भनेका छन् । रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण तीनैवटा कुरालाई अहिलेको सही अर्थमा बुझ्नुपर्ने उनको धारणा छ ।
‘रूपान्तरण भनेको इतिहास मेट्नु होइन। पार्टीको सङ्घर्ष, विचार, बलिदान र संगठनात्मक परम्परालाई अस्वीकार र अपमान गर्नु होइन। रूपान्तरण भनेको कार्यशैली बदल्नु हो; जनतासँग बोल्ने भाषा बदल्नु हो; निर्णय प्रक्रिया छरितो बनाउनु हो; कमिटीलाई बैठक गर्ने औपचारिक संरचनाबाट जनताको समस्या समाधान गर्ने केन्द्रमा बदल्नु हो; नेतृत्वलाई आदेश दिने तहबाट सुन्ने, बुझ्ने र परिणाम दिने तहमा बदल्नु हो’ उनले भनेका छन् ।
उनले आफ्नो औचित्यता पुष्टि गर्न रुखको बिम्ब प्रयोग गरेका छन् । ‘पुरानो रूखमा नयाँ पालुवा ल्याउन जरा काटिँदैन। जरालाई पोषण दिएर नयाँ पालुवा हुर्काइन्छ। एमालेको इतिहास जरा हो, नयाँ पुस्ता पालुवा हो’ ओलीले भनेका छन्,’ हस्तान्तरण पद खाली गर्ने आकस्मिक र मनमौजी घटना होइन।’
जिम्मेवारी, ज्ञान, अनुभव, संस्था, राजनीतिक संस्कृति र निर्णय क्षमताको योजनाबद्ध हस्तान्तरण हुनुपर्ने तर तयारीबिनाको हस्तान्तरणले रिक्तता पैदा गर्न सक्ने उनको धारणा छ ।
‘पुस्तान्तरण उमेरको अंकगणित मात्र होइन। नयाँ पुस्तालाई जिम्मेवारी, प्रशिक्षण, अनुभव, अवसर र निर्णयमा स्थान दिने प्रक्रिया हो। उमेर कम हुनु आफैंमा योग्यता होइन, उमेर बढी हुनु आफैंमा अयोग्यता होइन। ऊर्जा र अनुभवको संयोजन आवश्यक हुन्छ’ ओलीले भनेका छन् ।