काठमाडौं । बुढानीलकण्ठ मन्दिर आसपासका क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाइएको छ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष आकाश धितालको नेतृत्वमा मन्दिर परिसर आसपासका अतिक्रमित संरचना भत्काइएको हो।
मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा सर्वसाधारणको आवतजावत सहज बनाउने उद्देश्यले संरचना हटाउने अभियान सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।
मन्दिर आसपासका सार्वजनिक क्षेत्र तथा आवागमनमा अवरोध पुग्ने गरी निर्माण गरिएका संरचनासँगै मुआब्जा बुझिसक्दा पनि खाली नगरिएका संरचनासमेत हटाइएको छ। त्यसका लागि डोजर प्रयोग गरी अतिक्रमित संरचना भत्काइएको हो।
मन्दिरमा दैनिक ठूलो संख्यामा दर्शनार्थी पुग्ने गरे पनि आसपासका क्षेत्रमा रहेका अनधिकृत संरचना र साँघुरो बाटोका कारण आवतजावतमा समस्या हुँदै आएको थियो। संरचना हटाइएपछि मन्दिर आउने भक्तजनलाई आवागमनमा सहज हुने अपेक्षा गरिएको छ।
सार्वजनिक तथा धार्मिक स्थल आसपासको क्षेत्र व्यवस्थित बनाउने र सर्वसाधारणको पहुँच सहज बनाउने उद्देश्यले अभियान अघि बढाइएको हो। तर, यस्ता संरचना हटाउने कामलाई प्रभावकारी बनाउन अतिक्रमण हटाएपछि पुनः संरचना निर्माण हुन नदिने र क्षेत्रको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने चुनौती पनि छ।
बुढानीलकण्ठ मन्दिर धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थल हो। यहाँ आउने दर्शनार्थीको सुविधा, मन्दिर क्षेत्रको सौन्दर्य र सार्वजनिक स्थानको संरक्षणका लागि स्थानीय तहले थालेको यो कदमलाई निरन्तरता दिनुपर्ने देखिन्छ।

