काठमाडौं । इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिगमा इटालियन क्लब एएस रोमाविरुद्ध सनसनीपूर्ण जित निकालेको छ। दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडले रोमालाई ३-२ गोलले पराजित गरेको हो। तर, खेलमा निर्णायक गोलसँगै युवा खेलाडीप्रति सिनियर खेलाडीले देखाएको मायाले पनि चर्चा पाएको छ।
म्यानचेस्टरको ओल्ड ट्र्याफर्डमा भएको खेलमा रोमाले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। खेलको ११औँ मिनेटमा माटियास सौले र १७औँ मिनेटमा डोनीएल मालेनले गोल गर्दै रोमालाई बलियो अवस्थामा पुर्याएका थिए। तर दोस्रो हाफमा युनाइटेडले खेलको लय नै बदल्यो। खेलको ५८औँ मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काए।
त्यसपछि मैदानमा चम्किए ब्राजिलियन फरवार्ड म्याथियस कुन्हा। उनले ८३औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको तीन मिनेटपछि १९ वर्षीय युवा खेलाडी शे लासीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै कुन्हाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गरे। यससँगै युनाइटेडले ३-२ को रोमाञ्चक जित सुनिश्चित गर्यो।
निर्णायक गोलपछि कुन्हाले खुसीयाली मनाउँदै युवा खेलाडी लासीलाई अँगालो हाले र उनको टाउकोमा चुम्बन गरे। मैदानमै देखिएको यो दृश्यले सिनियर र जुनियर खेलाडीबीचको आत्मीयता र सम्मानलाई झल्काएको भन्दै समर्थकको ध्यान तानेको छ।
यद्यपि, कुन्हाको खुसीयाली लामो समय टिकेन। गोल गरेपछि जर्सी खोलेर दर्शकदीर्घातर्फ पुगेका कारण पहेँलो कार्ड पाएका उनले खेलको अन्तिम समयमा अर्को पहेँलो कार्ड पाएपछि रातो कार्ड सामना गर्नुपर्यो। त्यसका बाबजुद युनाइटेडले अग्रता जोगाउँदै महत्वपूर्ण तीन अंक हात पार्यो।
दुई गोलले पछि परेको अवस्थाबाट जित निकाल्नु, युवा खेलाडीको निर्णायक योगदान र कुन्हाको भावुक खुसीयाली–ओल्ड ट्र्याफर्डको यो रात युनाइटेड समर्थकका लागि लामो समय सम्झनलायक बनेको छ।

