काठमाडौं । चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रमा जमिनमा प्रवेश गरेको छ। मंगलबारसम्म बंगालको खाडीको समुद्री सतहमा रहेको चक्रवात बुधबार बिहानदेखि स्थल प्रवेश प्रक्रिया सुरू भएको हो।
भारतको मौसम विज्ञान विभागका अनुसार चक्रवातको स्थल प्रवेश प्रक्रिया बापट्ला र विशाखापट्टनमको बीचमा यानमको दक्षिणतर्फ भइरहेको छ। बुधबार बिहानदेखि सुरु भएको स्थल प्रवेश प्रक्रियाका क्रममा भारतका विभिन्न ठाउँमा भारी वर्षा र तीव्र हावाहुरी चलेको छ भारतीय समाचार संस्था एएनआईले जनाएको छ।
चक्रवातको केन्द्रमा हावाको गति प्रतिघन्टा १२५ देखि १३५ किलोमिटर छ। हावाको झोक्का प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको भनेर एएनआईले लेखेको छ। चक्रवातको प्रभावले आन्ध्र प्रदेशको काकिनाडामा रूखहरू ढलेका छन् भने विद्युतका तारहरू चुँडिएका छन्। विशाखापट्टनममा सडक अवरुद्ध भएका छन्। तटीय क्षेत्रमा समुद्रको पानी बस्तीमा पस्न सक्ने चेतावनीसमेत जारी गरिएको छ।
भारतमा चक्रवातको प्रभाव देखिइरहँदा नेपालमा पनि यसको बाहिरी क्षेत्रका बादल फैलिन थालेका छन्। जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौंसहित देशका विभिन्न भागमा उच्च बादल देखिन थालेका छन्।
‘चक्रवातको बाहिरी क्षेत्रबाट आउने उच्च बादल नेपालमा फैलिन थालेका छन्। काठमाडौंमा पनि यस्ता बादल देखिन थालेका छन् र देशका अन्य भागमा समेत फैलिएका छन्,’ उनले भनिन्। महर्जनका अनुसार बुधबार कतैकतै हल्का वर्षा हुन सक्छ। बिहीबार साँझदेखि भने वर्षाको सम्भावना बढ्नेछ। केही स्थानमा भारी र एक(दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने उनले बताइन्।
‘आज–भोलिलाई लगभग यस्तै बादल रहने र कतैकतै हल्का वर्षाको सम्भावना आजका लागि छ। भोलि साँझ रातिदेखि वर्षाको सम्भावना बढ्ने नै भइहाल्यो,’ उनले भनिन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार अर्नब जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै जानेछ।
नेपालसम्म आइपुग्दा यो समुद्री चक्रवातकै तीव्रतामा रहने सम्भावना छैन। तर चक्रवातले ल्याउने ओसिलो हावा र पश्चिमी वायुसँग सम्बन्धित माथिल्लो तहको न्यूनचापीय रेखाबीच अन्तरक्रिया हुँदा नेपालमा भारी वर्षा हुन सक्ने उनी बताउँछन्। पोखरेलले लुम्बिनी र गण्डकीदेखि कोशीसम्मका धेरै जिल्लामा भारी वर्षाको सम्भावना रहेको बताएका छन्।
विशेषगरी बिहीबार साँझदेखि शनिबार बिहानसम्मको करिब ३६ घण्टा बढी सतर्क रहनुपर्ने उनी बताउँछन्। विभागले हिमाली क्षेत्रमा जारी गरेको रेड अलर्ट कायमै राखेको छ। मौसमविद महर्जनका अनुसार कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा भने पूर्वानुमानमा केही घटबढ देखिएको छ। चक्रवात नेपालनजिक आएपछि यसको प्रभावबारे थप स्पष्ट आकलन गर्न सकिने उनले बताइन्।

