भक्तपुर । तिहारका समयमा माटोका दियोको सट्टा झिलिमिली बत्तीको प्रयोग बढ्न थालेपछि माटोको दियोको प्रयोग विस्तारै हराउन थालेको छ । तिहार आउन लागेसँगै निकै व्यस्त हुने गरेका भक्तपुरका प्रजापति समुदाय पछिल्ला केही समयदेखि माटोको दियोको बिक्री र माग घटेको गुनासो गर्छन् ।
२० वर्षदेखि पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका साजन प्रजापति यही क्रम चलिरहे माटोको काम गर्ने अन्तिम पुस्ता आफ्नै हुने आकलन गर्छन् ।
‘आजभन्दा १० वर्षअघि हामी जति व्यस्त हुन्थ्यौँ, अहिले त्यो अवस्था छैन । अहिले माग निकै कम छ । करिब १०० परिवार हामी माटोको पाला बनाउने काम गर्थ्यौँ, निकै व्यस्त हुने गर्थ्यौँ त्यो समयमा तर अहिलेको अवस्थामा चाहिँ भारत र विदेशबाट बत्तीहरू आउन थालेपछि माग कम नै छ,’ साजनले भने ।

विगतमा अत्यधिक बिक्री हुने माटोको दियो बिक्री हुन छाडेपछि व्यवसायीहरू समेत विस्तारै अर्को व्यवसायमा विस्थापित हुन थालेका छन् । चाडपर्व मनाउने तौरतरिकासमेत आधुनिकतातर्फ उन्मुख हुँदा दियोको सट्टा विद्युतीय बत्तीको प्रयोग बढेको र पुर्ख्यौली व्यवसाय धराशायी बन्दै गएको उनको गुनासो छ ।
भक्तपुरमा उत्पादन भएका पाला उपत्यकाका साथै काभ्रे, चितवन, धादिङ, नुवाकोट, पोखरा लगायतका स्थानसम्म पुग्ने गर्छन् ।

