काठमाडौं । गर्मी अब केही दिनको मौसमी समस्या मात्र रहेन। विश्वका विशाल भूभागलाई महिनौँसम्म प्रभावित पार्ने अत्यधिक तापक्रमका घटनाले मानव स्वास्थ्य, कृषि, वन्यजन्तु र अर्थतन्त्रमा नयाँ चुनौती थपिरहेका छन्।
वैज्ञानिकहरूले यस्तो असामान्य र व्यापक तापक्रम वृद्धिलाई ‘हिट स्टर्म’ अर्थात् विशाल तापीय आँधीका रूपमा व्याख्या गर्न थालेका छन्।
रोयटर्सले दुई दर्जनभन्दा बढी मौसमविद् तथा जलवायु अनुसन्धानकर्तासँगको परामर्श र सन् १९६० देखि हालसम्मको तापक्रमसम्बन्धी तथ्यांक विश्लेषण गरेर तयार पारेको विशेष अनुसन्धानले पृथ्वीमा यस्ता घटनाको तीव्र वृद्धि भएको देखाएको छ।
अनुसन्धानअनुसार सन् १९६० को दशकमा वर्षमा औसत पाँचवटा सक्रिय हिट स्टर्म देखिने गरेकामा सन् २०२० को दशकमा यो संख्या औसत १०२ पुगेको छ। अझ चिन्ताजनक तथ्य के छ भने सन् २०२३–२४ मा देखिएको सबैभन्दा ठूलो हिट स्टर्म ३६७ दिनसम्म सक्रिय रह्यो। यसले आफ्नो चरम अवस्थामा पृथ्वीको झन्डै ८५ प्रतिशत भूभाग समेटेको थियो।
युरोपमा पछिल्लो समय देखिएका अत्यधिक गर्मीका घटनाले जनस्वास्थ्य र भौतिक पूर्वाधारमा समेत गम्भीर असर पारेका छन्। रेलका लिक तातेर बाङ्गिने, विद्युत् माग बढ्ने, वन डढेलो फैलिने र गर्मीजन्य मृत्यु बढ्ने समस्या देखिएका छन्।
यस्तो तापक्रम वृद्धिको असर विकासशील मुलुकमा अझ गम्भीर हुन सक्छ। पर्याप्त शीतलन सुविधा नभएका विद्यालय, अस्पताल र श्रम क्षेत्रमा काम गर्ने मानिसहरू उच्च जोखिममा हुन्छन्। नेपाल पनि यसबाट अछुतो छैन। हिमाली क्षेत्रमा तापक्रम वृद्धिले हिमनदी र हिमतालमा असर पार्न सक्छ भने तराई तथा सहरी क्षेत्रमा अत्यधिक गर्मीले स्वास्थ्य र कृषि उत्पादनमा चुनौती थप्न सक्छ।
विश्व मौसम विज्ञान संगठनले अक्टोबर २६ मा सार्वजनिक गरेको पछिल्लो मौसमी प्रक्षेपणले पनि सन् २०२६ को अन्त्यतिर एल निनो अत्यन्त शक्तिशाली बन्न सक्ने संकेत गरेको छ। नोभेम्बर २०२६ देखि जनवरी २०२७ सम्म उष्णकटिबन्धीय प्रशान्त महासागरको सतहको तापक्रम औसतभन्दा ३.८ डिग्री सेल्सियससम्म बढी हुन सक्ने अनुमान छ। यसले विश्वका विभिन्न क्षेत्रमा खडेरी, अत्यधिक वर्षा र गर्मीको जोखिम बढाउन सक्छ।
गर्मीलाई सामान्य मौसमी घटनाका रूपमा मात्र हेर्ने समय सकिएको छ। जलवायु परिवर्तनसँगै विकसित भइरहेको नयाँ तापीय जोखिम सामना गर्न विश्वले पूर्वसूचना प्रणाली, स्वास्थ्य सुरक्षा, सहरी योजना र उत्सर्जन न्यूनीकरणमा तत्काल ध्यान दिनुपर्ने देखिन्छ।

