काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपाललाई अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने तयारीका लागि थप तीन वर्षको समय दिएको छ।
संयुक्त राष्ट्रसंघको निर्णयअनुसार नेपाल र बंगलादेशले स्तरोन्नतिपछि उत्पन्न हुन सक्ने आर्थिक तथा व्यापारिक चुनौती सामना गर्न तयारी गर्ने समय पाउने भएका छन्। यससँगै नेपालले सन् २०२९ नोभेम्बरसम्म स्तरोन्नतिको तयारीलाई थप व्यवस्थित गर्न सक्नेछ।
अति कम विकसित मुलुकबाट स्तरोन्नति भएपछि नेपालले हाल प्राप्त गर्दै आएका केही व्यापारिक सुविधा तथा अन्तर्राष्ट्रिय सहयोगमा परिवर्तन आउन सक्छ। त्यसैले उत्पादन क्षमता वृद्धि, निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना र प्रतिस्पर्धात्मक अर्थतन्त्र निर्माण चुनौतीका रूपमा रहनेछन्।
नेपालका लागि थपिएको समयलाई उत्पादन तथा निर्यात क्षमता विस्तार, औद्योगिक विकास र आर्थिक संरचना सुधारमा उपयोग गर्नुपर्ने आवश्यकता देखिएको छ।

