काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० पारित भएसँगै राजश्वको चुहावट नियन्त्रण गर्न सहज हुने बताएका छन् ।
सोमवारको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावउपर सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो बताएका हुन् । मन्त्री पौडेलले विधेयक पारित भएर कार्यान्वयनमा आएसँगै भन्सार प्रणालीलाई पारदर्शी र विश्वसनीय बनाउन एवं अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न ठूलो योगदान दिने बताए ।
पौडेलले सांसदहरुले विधेयकको आवश्यकता र अपरिहार्यताका सम्बन्धमा जोड दिनुभएकोमा धन्यवाद व्यक्त गरे । भन्सार सम्बन्धी विद्यमान कानूनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यका साथमा भन्सार विधेयक, २०८० को प्रक्रिया अघि बढेको जिकिर पौडेलको छ ।
अर्थमन्त्री पौडेलले विधेयक पारित भएर कार्यान्वयनमा जाँदा भन्सार प्रशासनमा रहेका र राजश्व परिचालनमा धेरै समस्या समाधान हुने दाबी गरे ।