काठमाडाैं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि निर्वाचनमा पराजित भएकाहरूलाई समेटेर अघि बढ्ने बताएका छन् ।
महाधिवेशन मतदानस्थलमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै थापाले कांग्रेसभित्र देखिएको राजनीतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेताकार्यकर्तालाई समेटेर अघि बढ्ने बताएका हुन् ।
यो महाधिवेशन प्रक्रियामा सहभागी नभएको नेपाली कांग्रेसको देउवा समूहलाई इंगित गर्दै उनले भने, ‘पार्टीका केही साथीहरु हाम्रो प्रोसेसमा सहभागी नभएर अहिले बाहिर हुनुहुन्छ, नेताहरु हुनुहुन्छ । हामी उहाँहरुलाई समेट्ने कोसिस गर्छौं । कोही पार्टी नै नयाँ खोलेर जान्छु भनेर भन्नुभयो भने त उहाँहरुको च्वाइस हो । तर कांग्रेसभित्रको असन्तुष्टि हो भने त्यसलाई सम्बोधन गर्ने कोसिस गर्छौं ।’
उनले जारी महाधिवेशनमा चुनावी प्रतिस्पर्धामा उत्रिएका र पराजित हुनेहरुलाई पनि समेटेर अघि बढ्ने पनि बताए । कांग्रेसका प्रत्येक व्यक्ति ‘इम्पोर्टेन्ट’ (महत्वपूर्ण) भएको बताउँदै थापाले भने, ‘कतिपय साथीलाई केन्द्रीय समितिमा फेरि जोडेर ल्याउने होला, कति साथीलाई अरु जिम्मेवारी दिने होला । तर सबैलाई समेटेर लिएर जाने हो ।’
आफू पनि विगतमा पार्टीको निर्वाचनमा पराजित भएर पुन: निर्वाचित भएको अनुभव थापाले सुनाए । उनले थपे, ‘म यही ठाउँमा आएर एकदमै कम मत ल्याएर प्रतिस्पर्धामा हारेको हुँ । फेरि पनि पार्टीमै बसेँ, काम गरेँ, दु:ख गरेँ, अर्को पटक एकदमै धेरै मत ल्याएर निर्वाचित भएँ ।’
उनले चुनावी हार र जितलाई सामान्य रूपमा लिनुपर्ने बताए । त्यसैले हार वा जितलाई सामान्य रुपमा ‘निर्वाचनमा विजय–पराजयले राजनीतिक निर्णयहरू नै बदल्छ भन्ने कुरा मलाई पटक्कै लाग्दैन । त्यो त अराजनीतिक चरित्र भइहाल्यो,’ थापाले भने ।
