काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीको कार्यालयमा भेटेसँगै छानबिनको दायरामा आएका सशस्त्रका एआईजी वंशीराज दाहालमाथिको छानबिन सकिएको छ । सशस्त्रका अर्का एआईजी अन्जनीकुमार पोखरेलले जाँचबुझ सकेर गृह मन्त्रालयमा प्रतिवेदन बुझाएका हुन् ।
वंशीराज दाहाललाई असोज १९ मा निलम्बन गरेर गृह मन्त्रालयले पोखरेललाई जाँचबुझ अधिकृत तोकेको थियो । एआईजी दाहालसँग चोलेन्द्र निकट बिचौलिया इनम सापकोटाको पनि ‘कनेक्सन’ देखिएको जाँचबुझको निष्कर्ष छ ।
जाँचबुझ समितिले एआईजी दाहालसँग बयान लिएको थियो । बयानमा दाहालले बिचौलिया सापकोटासँग संवाद हुने गरेको स्वीकार गरेका छन् । दाहाल र इनम दुवैजना झापाका हुन् । बयानमा एआईजी दाहालले चिनजान र जिल्लावासी भएको हुनाले ह्वाट्स एप र मोबाइल नम्बरमा कुरा हुने गरेको स्वीकार गरेका हुन् । ह्वाट्स एपमा एआईजी दाहाले इनमलाई प्रधानमन्त्री बालेन्द्र शाहको ‘लोकेशन’ बारे पनि जानकारी दिएको पुष्टि भएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए । इनममाथि जिल्ला प्रहरी परिसर काठमाडौंले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
वंशी र इनमबारे भएको कुराकानीको विवरण प्रहरी प्रधान कार्यालयले सशस्त्रको जाँचबुझ अधिकृतलाई उपलब्ध गराएको थियो । सो विवरण अनुसार जाँचबुझ गरेर एआईजी पोखरेलले प्रतिवेदन बुझाएका हुन् । दाहालले सशस्त्र प्रहरी नियमावली-२०७२ विपरितको काम गरेको जाँचबुझ निष्कर्ष छ ।
प्रतिवेदनको आधारमा वंशीलाई थप कारबाही गर्ने वा निलम्बन फुकुवा गर्ने भन्नेबारे गृहमन्त्रालयले निर्णय गर्नेछ । एआईजी दाहालले असोज ११ मा बिहान टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा गएर पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेटेका थिए ।
चोलेन्द्रले इनमलाई प्रयोग गरेर सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका दीपक भट्ट र सुलभ अग्रवालको मुद्दामा चलखेल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली जान लाग्दा असोज १४ मा इनम पक्राउ परेका थिए ।
