ताप्लेजुङ । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटकको सङ्ख्या पछिल्लो वर्ष उल्लेख्य रूपमा बढेको छ ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा पर्यटक आगमनमा करिब २४ प्रतिशत वृद्धि भएको हो । गत वर्ष कञ्चनजङ्घा क्षेत्रमा ४० जना नेपाली, ५८ जना सार्क मुलुकका तथा १,२४६ जना अन्य विदेशी गरी कुल १,३४४ जना पर्यटक पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने २९ जना नेपाली, ३९ जना सार्क मुलुकका र १,०१७ जना अन्य विदेशी गरी १,०८५ जना पर्यटकले भ्रमण गरेका थिए । यसरी पर्यटक संख्या २३.८७ प्रतिशतले वृद्धि भएको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।
पर्यटकको चापसँगै कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् तथा कार्यालय मार्फत उठेको राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ । प्राप्त विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा ४४ लाख ३७ हजार ८९ रुपैयाँ राजस्व संकलन भएको छ ।
सोमध्ये पर्यटन शुल्क हेलिकोप्टरसहित बाट २४ लाख ७० हजार ७९३ रुपैयाँ, वन क्षेत्रको रोयल्टीबाट १८ लाख ९१ हजार ६०२ रुपैयाँ, बेरुजु दाखिलाबाट २६ हजार १९ रुपियाँ र अन्य आयबाट ४८ हजार ६७५ रुपियाँ संकलन भएको छ । अघिल्लो वर्ष ३४ लाख ३ हजार ४९३ रुपैयाँ राजस्व संकलन भएको थियो ।
त्यसमा पर्यटन शुल्क (हेलिकोप्टरसहित) बाट २२ लाख २१ हजार ४००, रोयल्टीबाट ११ लाख ४२ हजार ६४८ र अन्य स्रोतबाट ३९ हजार ४४५ रुपियाँ राजस्व संकलन गरिएको थियो ।