जाजरकोट । जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान करिब २ बजेतिर सुर्खेतबाट जाजरकोटको जुनिचाँदे तर्फ जाँदे गरेको क.प्र. ०२००१ च १२४३ नम्बरको जिप जुनिचाँदे-२ गैरीगुवास्थित भित्री सडक खण्डमा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी इन्स्पेक्टर सुधिरराज खड्काका अनुसार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। मृत्यु हुनेमा चालक जुनिचाँदे-९ कल्ली स्यालाका २० बर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे-३ स्यालाकी ३० बर्षीया बिपना भण्डारी छन्।
उनीहरूलाई जिपले च्यापेपछि घटनास्थलमै मृत्यु भएको इन्स्पेक्टर खड्काले बताए। दुर्घटनामा परी थप तीन जना घाइते छन्।
जुनिचाँदे-३ स्यालाका ३० वर्षीय दिलबहादुर भण्डारी, भण्डारीको छोरा ४ वर्षीय शिशिर भण्डारी र स्यालाकै ५० वर्षीया सितला टमटा घाइते छन्। घाइते भएका दिलबहादुर र शिशिर विपनाका श्रीमान र छोरा हुन्।
घाइते तीनै जनाको अवस्था मध्य रहेको तथा तीनै जनालाई उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतका लागि पठाइएको इन्स्पेक्टर खड्काले बताए। दुर्घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।
