काठमाडौं । नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिसकेको छ। बुधबार जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन पूर्ण रूपमा बाहिरिएको घोषणा गरेको थियो। यद्यपि आज र भोलि थोरै ठाउँहरूमा वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिएका छन्।
मनसुनी प्रभाव सकिएपछि नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम छ। पश्चिमी न्यूनचापीय प्रणालीको असरका कारण आज र भोलि हल्का पानी पर्न सक्ने उनी बताउँछन्।
‘हिजो अस्ती पानी नै परेन। घमाइलो भयो। बितेको चौबीस घन्टामा पनि कतै पनि एक थोपा पानी परेको छैन। आज र भोलि दिउँसो भने उक्त प्रणालीको असर सामान्य देखिन सक्छ,’ मौसमविद अधिकारीले भने।
आज मध्यदेखि पश्चिमी भेगका हिमाली भूभागको थोरै स्थानमा सामान्य पानी पर्ने सम्भावना रहेको उनले बताए। भोलि उक्त प्रणालीको असर पूर्वतिर फैलिँदै जाँदा पूर्वसम्मकै हिमाली भेगमा सामान्य पानी पर्ने सम्भावना रहेको उनले बताए। ‘पहाडी भूभागमा पनि आज र भोलि छिटपुटसम्म पानी पर्ने देखिन्छ,’ उनले भने।
पर्सीदेखि भने उक्त प्रणालीको प्रभाव कमजोर हुने उनले बताए। ‘त्यसपछि आंशिक मात्रै प्रभाव छ। त्यसपछि दिनमा भने क्रमशः मौसम सुधार हुँदै जाने देखिन्छ,’ उनले भने। समग्रमा दसैंको मौसम राम्रै हुने देखिएको उनले बताए।
महाशाखाले दसैंको विशेष मौसम बुलेटिन र साप्ताहिक मौसम पूर्वानुमान पनि सार्वजनिक गर्नेछ। यसबाट दसैंको मौसम कस्तो रहन्छ भन्ने आकलन गर्न सकिनेछ। ‘समग्रमा त्यति प्रतिकूल हुने देखिएको छैन, मौसमविद अधिकारीले भने।
