सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतले थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई दोषी ठहर गरेको हो । अदालतले थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ गैरकानूनी रूपमा आर्जन गरेको ठहर गर्दै एक वर्ष कैद र बिगो बराबरकै जरिवानाको फैसला सुनाएको छ ।
न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापाले गैरकानूनी आर्जन गरेको ठहर गरेको हो । यसैगरी, विशेष अदालतले प्रमुख थापालाई नदीजन्य पदार्थको ठेक्कामा हानिनोक्सानी पुर्याएको अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गरेको छ ।
बागमती नगरपालिकाको मूल्य अभिवृद्धि करसहित ३० करोड २९ लाखभन्दा बढीको नदीजन्य पदार्थमा हानिनोक्सानी गरेको ठहर गर्दै अदालतले थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूर गरेको ठहर गरेको हो ।
अदालतले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अन्तर्गतको कसूरमा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि यहि साउन २९ गते पेशी तोकेको छ । त्यसैगरी, प्रतिवादी लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई आरोप अनुसारको कसूर प्रमाणित नदेखिएकाले सफाइ दिएको छ ।