काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिले आन्दोलनको नयाँ रणनीति तय गरेको छ ।
बुधबार संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४५ दल, समूह र अभियानको बैठकले आन्दोलनलाई थप सशक्त बनाउँदै देशव्यापी आन्दोलन गरिने जनाएको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिमा काठमाडौंदेखि देशका प्रमुख शहरहरूमा प्रदर्शन गर्ने निर्णय गरिएको जनाइएको छ । काठमाडौं उपत्यकाका विभिन्न पालिकामा विरोध प्रदर्शनलाई निरन्तरता दिने, देशका प्रमुख शहरहरूमा सभा, जुलुस र आन्दोलनलाई थप प्रभावकारी बनाउन स्थानीय तहसम्म समिति विस्तार गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, जिल्ला स्तरमा पूर्व राजा समर्थक र राष्ट्रवादी युवाहरूको समूह निर्माण गर्ने र विभिन्न जिल्लामा आन्दोलनमूलक कार्यक्रम सञ्चालन गर्ने योजना समितिले सार्वजनिक गरेको छ ।