काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले विद्युत आपूर्तिको माग दिन प्रतिदिन बढिरहेको बताएका छन् ।
आज काठमाडौंमा नेपाल सौर्य विद्युत उत्पादक संघको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले सरकारले विद्युतका मार्फत हरेक नागरिकको घरमा उज्यालो दिनुपर्ने कार्य पुर्रुयाउन नसकेको नेपालमा सौर्य विद्युत उत्पादन मार्फत विद्युत आपूर्ति हुनु राम्रो कुरा भएको बताएका हुन् ।
मन्त्री खड्काले सरकारले सिंचाई गर्न नसकेको ठाउँमा सिञ्चित गरेर सौर्य उर्जामार्फत पम्पिङहरु गरेर त्यस्ता ठाउँमा सिंचाई गरेर योगदान दिनु सकारात्मक पक्ष रहेको पनि बताए ।
मन्त्री खडकाले विद्युतको आवश्यकता एकातिर दिनानुदिन बढिरहेको र अर्कोतिर चुनौति पनि बढिरहेको बताए । विद्युतको मागअनुसार सम्बोधन र व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाइ छ । विद्युत उत्पादनलाई हरेक नागरिक र मुलुकको आय आर्जनसँग जोड्ने गरी सरकारले काम गरिरहेको पनि मन्त्री खड्काले बताए ।
सरकारले १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै यो लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । मन्त्री खड्काले वातावरणीय असर र चुनौतिहरु कायम रहेको भन्दै त्यसलाई समाधान गर्न सबै मिल्नुको विकल्प नरहेको बताए ।