काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने कांग्रेस र एमाले बाहेकका दलले राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२ संविधान बिपरित भएको भन्दै अस्वीकार गर्ने निर्णय गरेका छन् ।
बुधबार माओवादी अध्यक्ष दाहालको आह्वानमा सिंहदरबारमा बसेको कांग्रेस र एमाले बाहेकका दलको बैठकले निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ संविधानविपरीत रहेको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।
बैठकले निर्वाचन आयोग एमाले–कांग्रेसको इशारामा चलेको आरोप लगाएको छ । बैठकपछि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले दलहरुलाई सहजीकरण गर्नुको साटो निर्वाचन आयोग नियमनकारी निकाय बन्न खोज्नु उचित नभएको बताए ।
नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संविधान बिपरित राजनीतिक दललाई नियन्त्रण गर्नुका साथै दुई ठूला पार्टी मात्रै रहने व्यवस्था आयोगले गर्न खोजेकाले विरोध रहेको बताए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा रहेका व्यवस्था संविधान विपरीत रहेकाले आफुहरु यसको विरोधमा उत्रिनु परेको बताए ।
अन्य दलका नेताहरु समेत राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिले दलहरुलाई नियन्त्रण गर्न खोजेको भन्दै विरोध जनाएका थिए ।