Siddarth bankविज्ञापन
समाज

महोत्तरीमा सार्वजनिक जग्गामा नापी कार्यालय तथा भूमाफियाहरूको चलखेल

महोत्तरीमा सार्वजनिक जग्गामा नापी कार्यालय तथा भूमाफियाहरूको चलखेल

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका ५ स्थित गोवरौडामा २ विगहा १६ कठा १५ धुर सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन पाँचनम्बर नापी गोश्वारा जलेश्वर नापी कार्यालय महोत्तरी तथा भूमाफियाहरूले चलखेल गरेको खुलासा भएको छ । 

सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन चलखेल गर्ने पाँचनम्बर नापी गोश्वारा र नापीका कर्मचारी तथा भूमाफियाहरूमाथि छानबिन गरी कारबाहीको माग गर्दै स्थानीयहरुले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय टंगाल र जिल्ला प्रशासन कार्यालय महोतरीमा उजुरी दर्ता गराएपछि सो प्रकरणको खुलासा भएको हो । अभिलेख मालपोत कार्यालयमा नहुनुले मालपोत कार्यालयको लापरबाही तथा गैरजिम्मेवारीपूर्ण काम भएको स्थानीय र जनप्रतिनिधिको भनाइ छ । 

नापीबाट मुल जग्गा २४ कित्तामा बाँडेर जग्गा व्यक्तिको नाममा ल्याउन चलखेल सुरु गरिएको छ । नापी कार्यालयबाट साबिकको कित्ता नम्बर २५१ कित्ताकाट भई नयाँ कित्ता कायम भएपछि जग्गा व्यक्तिको नाममा ल्याउन चलखेल गरिएको छ ।
 
तत्कालिन पाँचनम्बर नापी गोश्वारा जलेश्वरका नापी टोली प्रमुख खटिएका कर्मचारीहरुले सो जग्गाको विभिन्न टुक्रामा गरी २४ वटा किताकाट  गरेका थिए । नापी कार्यालयले कित्ताकाट गर्दा मालपोत कार्यालयको निर्देशनमा मात्र कित्ताकाट गर्नुपर्नेमा जानकारी नै नदिइ जालझेल भएको दाबी स्थानीयको छ । 

भूमाफियाहरूले चलखेल गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय टंगालले मालपोत कार्यालय पाँच नम्बर नापी गोश्वारा  र नापी कार्यालयसँग पत्राचार गरी सोधपुछ गरेर छानविन अघि बढाएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *