सोलुखुम्बु । सोलुखुम्बुमा हालै स्थापना गरिएको सोलुखुम्बु ल क्याम्पसको क्याम्पस प्रमुखमा गीता घिमिरे नियुक्त भएकी छन् ।
घिमिरे निजामती सेवाबाट अवकास प्राप्त उपसचिव हुन् । नेपालको पूर्वी उत्तरमा रहेका जिल्लाहरु उदयपुर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप र दोलखा गरी ७ जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी सोलुमा पहिलोपटक कानुन स्नातक (एलएलबी) अध्ययन शुरु गर्न लागिएको हो ।
पूवाञ्चल विश्व विद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसले एलएलबीमा ६० जना विद्यार्थी पढाउने अनुमति पाएको छ । शिक्षा क्षेत्रमा ३० वर्षको अनुभव बटुलेकी नवनियुक्त क्याम्पस प्रमुख घिमिरे सोलुमा एलएलबी पढाइ सुरुवात गर्न पाउँदा हर्षित भएको बताइन् ।
ल क्याम्पस स्थापनाको छोटो समयमा पूर्ण पूर्वाधारहरु निर्माण गर्न नसकिएका कारण सोलुखुम्बु बहुमुखी क्याम्पसकै संरुचना प्रयोग गरी क्याम्पस सञ्चालन गर्ने तयारी गरिएको छ । क्याम्पसको निर्देशकमा सोलुखुम्बु बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख उद्धव कुमार शर्मालाई नै नियुक्ति गरिएको छ ।
शर्माले एसएसबी कलेज स्थापना देखि सञ्चालन र व्यवस्थापनको काम गरिरहेका छन् । क्याम्पसले कक्षा प्रभावकारी रुपमा सञ्चालन गर्न आङरिता शेर्पाको नेतृत्वमा सञ्चालक समिति गठन गरी कार्य अगाडि बढाएको छ ।
