ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका स्थित काबेली खोलाबाट निर्माण गरिएको काबेली–३ क्यासकेट जलविद्युत् आयोजनाको उत्पादन परीक्षण शुुरु गरिएको छ ।
काबेली हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माण गरिएको २१ दशकलब ९३ मेगावाट क्षमताको आयोजनाले मंगलबारदेखि परीक्षण उत्पादन शुुरु गरेको हो । २०७९ साल माघ ५ गतेबाट शुुरु गरिएको निर्माण कार्य सम्पन्न भएसँगै विद्युत् परीक्षण शुुरु गरिएको हो ।
परीक्षण सफल भएपछि औपचारिक रुपमा विद्युत् उत्पादन शुुरु गरिने आयोजनाले जनाएको छ । सिरिजंघा गाउँपालिका–५ पेदाङ, ६ मामाखे र वडा नं. ७ खेबाङमा फैलिएको आयोजनाको कुल लागत चार अर्ब २८ करोड ५० लाख एक हजार रुपैयाँ रहेको छ ।
आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणको पाँचथरको हिलिहाङ गाउँपालिकास्थित १ सय ३२ केभी क्षमताको अमरपुर दुवीचौर सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । कुल लागत बजेटमध्ये ७५ प्रतिशत लगानी एनएमबी बैंकको नेतृत्वमा प्रभु बैंक र नबिल बैंक लिमिटेडको रहेको छ भने बाँकी २५ प्रतिशत प्रवर्धक कम्पनीको स्वपुँजीबाट लगानी गरिएको छ ।
यसअघि सोही क्षेत्रमा १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ र १२ मेगावाट क्षमताको सुपर काबेली आयोजना समेत निर्माण भइसकेका छन् ।
