काठमाडौं । एभिन्युज टेलिभिजन मधेस प्रदेशका ब्युरो प्रमुख बैद्यनाथ यादव उपर बुधबार राति आक्रमण भएकाछ ।
एभिन्युजको लोकप्रिय कार्यक्रम एभिन्युज पहलका लागि राजबिराज स्थिति दर्शन चौकबाट सप्तरीको राजगढ–२ कमलपुरका लालु यादवको प्रहरी ले चलाएका गोली लागेर मृत्यु भएको घटनाबारे प्रत्यक्ष प्रशारण गरिरहेका यादवमाथि एक समुहले कार्यक्रम बिथोल्ने प्रयास गरेका हुन् ।
तत्कालै कार्यक्रम स्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव काफ्ले र सशस्त्र प्रहरीका इन्सपेक्टर संजीव मगरदैता यादको नेतृत्वमा पुगेका सुरक्षाकर्मीले पत्रकार यादवलाई सुरक्षित स्थान तर्फ लगेका थिए ।
घटनाको स्थानीय युवाहरूले बिरोध जनाएका छन् भने राजगढ घटना संघर्ष समितिका संयोजक दिपेन्द्र यादवले घटनामा संलग्नहरूलाइ तत्काल नियन्त्रणमा लिइ कारवाही गर्न स्थानीय प्रहरी प्रशासनसँग माग गरेका छन् ।
आक्रमणकारीहरूले प्रहरीको गोली लागरे मृत्यु भएका लालु यादवलाई तस्करको आरोप किन लगाएको भन्दै आक्रमण गरेका थिए । सप्तरी उद्योग बाणिज्य संघ सप्तरीले राजगढ घटनालाई लिएर आज सदरमुकाम राजबिराज लगायत जिल्ला भरका उद्योग धन्दा , पसल , बजार यातायात बन्दको आह्वान गरेका छन् ।
भारततर्फ अवैध रुपमा मदिरा तस्करी हुन लागेको सूचना पाएपछि मंगलबार राति प्रहरी टोली उक्त स्थानमा पुगेको थियो । तर, अचानक केही स्थानीयले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि अवस्था तनावपूर्ण बनेको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको र त्यस क्रममा एक गोली ३७ वर्षीय यादवको तिघ्रामा लागेर घाइते भएको प्रहरीले जनाएको छ । घाइते यादवको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो ।
घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन् । मृतकको परिवार र स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन् ।