काठमाडाैं । लगातार उत्कृष्ट बलिङ प्रदर्शन । ब्याटिङमा पनि परिक्षण । अनि मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित । नेपाल प्रिमियर लिग ( एनपीएल) को तेस्रो सिजन लुम्बिनी लायन्सको शानदार प्रदर्शन जारी छ र नतिजा पनि आफ्नो पक्षमा पारिरहेको छ ।
वास्तवमै लुम्बिनीले यस पटक च्याम्पियनकै शैलीमा खेलिरहेको छ र त्यही अनुसार जित पनि हात पारेको छ ।
तेस्रो संस्करण लगभग आधा खेल भइसक्दा लुम्बिनी लायन्स मात्र एक्लो अपराजित टोलीको रूपमा छ । ब्याटिङमा मध्यम स्कोर बनाएको लुम्बिनीले बलरहरूको उत्कृष्ट प्रदर्शनमा बिहीबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ ।
यस सिजन ३ जित र १ खेलमा अंक बाँडेको (वर्षाका कारण चितवन विरुद्धको खेल रद्द भएको) लुम्बिनी ७ अंकसहित शीर्ष स्थानमा छ र प्लेअफको निकै नजिक समेत पुगेको छ ।
च्याम्पियन्सको भिडन्तमा लुम्बिनीले मार्यो बाजी
कीर्तिपुरस्थित बिहीबारको पहिलो खेल दुई च्याम्पियन टोली जनकपुर र लुम्बिनीबीच थियो । एनपीएलको इतिहासमा दुई च्याम्पियन टोली भिडेको यो पहिलो पटक हो । जसमा दोस्रो संस्करणको विजेता लुम्बिनीले पहिलो संस्करणको विजेता जनकपुरविरुद्ध बाजी मार्यो ।
जनकपुरका हर्मीत सिंहले टस जितेर बलिङ रोज्दै लुम्बिनीलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । यस सिजन लुम्बिनीले दुवै खेलमा पहिले बलिङ गर्दै विपक्षीलाई १०० भन्दा स्कोरमा रोकेको थियो ।
तर पहिलो पटक सुरुमा ब्याटिङ गरेको लुम्बिनीका ओपनर डार्शी शर्ट पहिलो बलमै आउट भए । त्यसपछि पनि निमयित रूपमा लुम्बिनीले विकेट गुमायो ।
अघिल्लो दुई खेलमा नभएको ब्याटिङ टेस्ट यस खेलमा मज्जैले भयो । लुम्बिनीका ९ खेलाडीले ब्याटिङ गर्ने अवसर पाए । जसले गर्दा आगामी खेलको लागि यो परिक्षण पनि भयो ।
कप्तान रोहित पौडेलको सर्वाधिक ३८ रन मद्दतमा लुम्बिनीले १४९ रन बनायो । उनले ३१ बल खेल्दा ४ चौका र १ छक्का प्रहार गरे । निरोशन डिकवेलाले २७, आसिफ शेख र दिलिप नाथले समान २१ रन बनाए । रुबेन ट्रम्पलम्यानले अन्तितिर २ चौका प्रहार गर्दै ८ बलमा १५ रन योगदान गरे ।
खेलमा जनकपुरले १७ ओभर स्पीनरबाट बलिङ गराउँदा ३ ओभरमा मात्र पेसरले गरे । स्पीनर मिलेर ४ र पेसरले ३ विकेट लिए ।
बलिङमा पनि लुम्बिनीले सुरुवात देखि नै उत्कृष्ट प्रदर्शन गर्यो । डार्शी शर्ट, तिलक भण्डारी र शेर मल्लले लगातार विकेट झार्दै विपक्षीको रनमा अंकुश लगाएका थिए । लुम्बिनीका स्पीनरहरू चम्कँदा जनकपुरले ६५ रनमै ७ विकेट गुमाइसकेको थियो ।
कप्तान हर्मीत सिंह र आदित्य महताले आठौं विकेटका लागि ४३ रनको साझेदारी गरेपनि जितसम्म पुग्न सकेन । हर्मीतले ३३ र आदित्यले अविजित ३० रन बनाए ।
कप्तान रोहितले बलिङको सुरुवात गरे । अनि बलिङमा चम्किए ओपनिङ ब्याटर डार्शी शर्ट । त्यसअघि दोस्रो ओभरमा रुबेन ट्रम्पलम्यानले परभेज हुसेन इमोनको विकेट लिएर लुम्बिनीलाई सफलता दिएका थिए । अनि शर्ट बलिङमा चम्किए ।
उनले ओपनर तृत राज दास र सेफ हसनको विकेट लिएर सुरुमै जनकपुरको ब्याटिङलाई शान्त पारे । त्यसपछि लोअर अर्डरका अभिषेक तिवारीको विकेट पनि झारे ।
शर्टपछि मिडल ओभरमा तिलक भण्डारीले अनिल शाह र विशाल सुशलिङलाई एकै ओभरमा आउट गर्दै मध्यक्रम ध्वस्त पारे । उनले २ ओभरमा ५ रन मात्र खर्चेर २ विकेट लिए ।
शेर मल्ले ‘डेन्जरस’ जिमी निशमलाई आफ्नो पहिलो शिकार बनाए अनि सर्वाधिक रन बनाउने कप्तान हर्मीतको विकेट पनि लिए ।
लुम्बिनीले ब्याटिङ र बलिङ दुवैमा आवश्यकता अनुसार प्रदर्शन गरिरहेको छ । लुम्बिनीका मुख्य प्रशिक्षक टिनु योहान्नानले कप्तान रोहित देखि निरोशन डिकवेला जस्ता अनुभवी खेलाडीहरू टिममा हुँदा फाइदा भएको बताए ।
‘सबै जनाले एकुजट भएर खेलेका छन् । सुरुमा अवस्था राम्रो थिएन । पावरप्लेमा ३९-१ थियौं । रोहित पौडेल र निरोशन डिकवेला जस्ता अनुभवी खेलाडीहरूले राम्रो खेले । १४०-१५० आज पार स्कोर थियो । मिडल अर्डरमा अनुभवले काम गर्यो । गत वर्षकै मुख्य खेलाडीहरू रिटेन गरेकोले राम्रो भयो ’ उनले खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा भने ।
बलिङमा पनि डार्शीले विकेट लिँदै टिमलाई सहयोग गरेको र टिममा स्पीनरहरू धेरै हुँदा फाइदा भएको उनले बताए ।
लगातार १० खेलमा अपराजित
लुम्बिनी पछिल्लो पटक दोस्रो संस्करणमा आफ्नो चौथो खेलमा सुदूरपश्चिम रोएल्ससँग पराजित भएको थियो । त्यसबेला सुरुवाती ४ मध्ये १ मात्र जितेको लुम्बिनीले शानदार कमब्याक गर्दै लिग चरणको बाँकी तीन खेल र प्लेअफमा फाइनलसहित तीन खेल गरी लगातार ६ खेल जितेको थियो ।
लिग चरणमा पोखरा एभेन्जर्स, विराटनगर किंग्स र जनकपुर बोल्ट्सलाई हराएपछि लुम्बिनी लिगमा चौथो हुँदै प्लेअफ पुग्यो । अनि एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराउँदै दोस्रो क्वालिफायरमा पुग्यो ।
दोस्रो क्वालिफायरमा विराटनगरलाई हराउँदै फाइनल यात्रा तय गरेको लुम्बिनीले सुदूरपश्चिमलाई फाइनलमा ८५ रनमा अलआउट गर्दै ६ विकेटले खेल जितेर च्याम्पियन नै बन्यो ।
पहिलो सिजन जम्मा एक खेल मात्र जितेर अन्तिम भएको लुम्बिनीले दोस्रो सिजनमा रोलरकोस्टर यात्रा तय गर्दै उपाधि नै जित्यो ।
तेस्रो सिजनमा सुरुवात देखि नै लुम्बिनीले त्यो लय कायम राख्दै ४ खेलसम्म अपराजित छ भने खेलेको तीनवटै खेल जितेको छ । लुम्बिनीले दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्स, पोखरा एभेन्जर्स र जनकपुरलाई पराजित गरिसकेको छ ।
प्रशिक्षक योहान्नानले टिमको मोमेन्टम र विश्वास सबैभन्दा महत्वपूर्ण कुरा भएको बताए । ‘यो मोमेन्टमले गर्दा हो र ड्रेसिङ रुमको माहोलले गर्दा हो । उनीहरूले विश्वास गर्न थाले । लगभग आउट भइसकेका थियौँ र रहेक गेम मस्ट विन गेम थियो । हामीले लगातार ६ खेल जित्यौं’ दोस्रो सिजनमा कमब्याक गर्दै च्याम्पियन बन्दाको अनुभव उनले सुनाए, ‘त्यो मुड अहिले पनि निरन्तर छ । उनीहरूलाई कसरी कमब्याक गर्ने थाहा छ र टिममा विश्वास छ ।’

