काठमाडौं । अमेरिकाको मेरिल्याण्ड राज्यको तल्लो सदन ‘हाउस अफ डेलिगेट्स’ मा नेपाली मूलका डा. ह्यारी भण्डारी लगातार तेस्रो पटक निर्वाचित भएका छन्। नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार भण्डारी मेरिल्याण्डको डिस्ट्रिक्ट ८ बाट विजयी भएका हुन्।
सन् २०१८ मा पहिलोपटक निर्वाचित भएर अमेरिकी राज्य संसद्मा प्रतिनिधित्व गर्ने पहिलो नेपाली मूलका व्यक्ति बनेका भण्डारीले सन् २०२२ र २०२६ को निर्वाचनमा पनि जित हासिल गरेका हुन्। यससँगै उनले लगातार तेस्रो कार्यकालका लागि आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिएका छन्।
नेपालमा शिक्षकका रूपमा काम गरेका भण्डारी सन् २०११ देखि मेरिल्याण्डको राजनीतिमा सक्रिय छन्। नेपाली समुदायबाट अमेरिकी मूलधारको राजनीतिमा स्थापित हुँदै आएका उनी अहिले राज्यको विधायिकी तहमा आफ्नो प्रतिनिधित्व कायम राख्न सफल भएका छन्।
यसपटकको निर्वाचनमा मेरिल्याण्डको डिस्ट्रिक्ट ८ मा तीन जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था थियो। मेरिल्याण्ड निर्वाचन कार्यालयको प्रारम्भिक नतिजाअनुसार भण्डारीले १९ हजार ५ सय ३० मत अर्थात् कुल सदर मतको २२ दशमलव ३४ प्रतिशत मत प्राप्त गरेका छन्। उक्त निर्वाचन क्षेत्रमा ३६ वटै मतदान केन्द्रको मतगणना सम्पन्न भएको विवरण छ।
भण्डारीले आफ्नो जितपछि मतदाता, स्वयंसेवक तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। उनले आफूलाई मतदान नगर्ने मतदातालाई समेत समान महत्त्व दिँदै डिस्ट्रिक्ट ८ का प्रत्येक परिवारको आवाज बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनको भनाइ थियो, “यो देशले मलाई कल्पनाभन्दा धेरै अवसर दियो। त्यसैले जसले जसलाई मतदान गरेको भए पनि डिस्ट्रिक्ट ८ का हरेक परिवारको आवाज बनेर निरन्तर काम गर्नु नै यो देशप्रतिको मेरो कृतज्ञता हुनेछ।”
शिक्षकदेखि अमेरिकी राजनीतिसम्मको यात्रा
सन् १९७७ अक्टोबर १ मा नेपालको थापाथानामा जन्मिएका भण्डारीले नेपालमा अंग्रेजी शिक्षक तथा विद्यालयका प्रधानाध्यापकका रूपमा काम गरेका थिए। त्यसपछि अमेरिका पुगेका उनले त्यहाँको शिक्षा क्षेत्रमा समेत काम गरे।
जोन्स हप्किन्स विश्वविद्यालय र युनिभर्सिटी अफ मेरिल्याण्ड बाल्टिमोर काउन्टीबाट उच्च शिक्षा हासिल गरेका भण्डारी सन् २०१८ मा पहिलोपटक मेरिल्याण्डको राज्य संसद्मा निर्वाचित भएका थिए। उनले सन् २०१९ जनवरी ९ देखि प्रतिनिधिका रूपमा काम सुरु गरेका हुन्।
अमेरिकी राज्य संसद्मा नेपाली मूलका व्यक्तिको प्रतिनिधित्वलाई निरन्तरता दिँदै तेस्रो कार्यकालका लागि निर्वाचित हुनुलाई अमेरिकी नेपाली समुदायले पनि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

