काठमाडौं । नेपाली कांग्रेसले पार्टीको संगठनात्मक गतिविधि र राजनीतिक सन्देशलाई प्रभावकारी बनाउन युवा केन्द्रीय सदस्यलाई डिजिटल अभियानदेखि स्थानीय तहसम्म पुगेर संगठन विस्तार र जनतासँग सम्बन्ध जोड्ने जिम्मेवारी दिने रणनीति अघि सारेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार ३५ वर्षमुनिका र सामाजिक सञ्जालमा प्रभाव बनाएका युवा केन्द्रीय सदस्यहरूको बैठकमा यसबारे छलफल भएको छ ।
सभापति गगनकुमार थापा, पदाधिकारी तथा युवा केन्द्रीय सदस्यबीच युवाको भूमिका, सामाजिक सञ्जालको उपयोग, सूचना प्रवाह र जनतासँगको सम्बन्ध विस्तारबारे छलफल भएको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले बताएका छन् ।
महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा भएको छलफलमा ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्यसँगै अन्य केन्द्रीय सदस्यले पनि पार्टीलाई नयाँ ढंगले अघि बढाउने उपायबारे सुझाव दिएका छन् ।
छलफलमा सभापति थापाले परम्परागत शैलीबाट मात्रै पार्टीको सन्देश जनतासम्म पुर्याउन नसकिने भन्दै नयाँ पुस्ताको सोच, प्रविधि र सिर्जनात्मक क्षमताको उपयोग गर्नुपर्ने धारणा राखेका छन् । उनले युवाहरूलाई जिम्मेवारी तोकेर जनतामाझ पठाउने र स्थानीय तहसम्म संगठनलाई सक्रिय बनाउने विषयमा जोड दिएका छन् ।
युवा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य अनुराग खड्काका अनुसार सभापति थापाले सामाजिक सञ्जालमा मात्रै सीमित नभई युवालाई प्रभावकारी रूपमा परिचालन गर्न सकिने विषयमा नयाँ पुस्तासँग सुझाव मागेका थिए ।
‘पहिलेकै तरिकाले अब हुँदैन, नयाँ पुस्तालाई कुन तरिकाले अगाडि बढाउन सकिन्छ र प्रविधिको यो समयमा सामाजिक सञ्जाललाई कसरी अझै प्रभावकारी रूपमा उपयोग गर्न सकिन्छ भन्ने विषयमा सभापतिज्यूले सुझाव माग्नुभयो,’ बैठकपछि खड्काले भने ।
उनले बैठकमा आफूले पार्टीका सन्देश नियमित रूपमा कार्यकर्तासम्म पु-याउन महाधिवेशन प्रतिनिधिलाई परिचालन गर्नुपर्ने प्रस्ताव राखेको बताए । पार्टीको आधिकारिक डिजिटल प्रणाली पूर्ण रूपमा विकसित नहुँदासम्म महाधिवेशन प्रतिनिधिलाई समेटेर ह्वाट्सएप समूह बनाउने र उनीहरूमार्फत क्षेत्रीय प्रतिनिधि तथा आम कार्यकर्तासम्म सूचना पु-याउनुपर्ने खड्काको सुझाव थियो ।
३५ वर्षमुनिका केन्द्रीय सदस्य इन्जिनियर अभिषेक आत्रेयले बैठकमा आफूले सामाजिक सञ्जालमा पार्टीका तर्फबाट प्रस्तुत हुने सामग्री प्रमाण र स्रोतमा आधारित हुनुपर्नेमा जोड दिएको बताए ।
‘हामीले सामाजिक सञ्जालमा जे पायो त्यही सामग्री राख्नु हुँदैन । आफूले बोल्ने र प्रस्तुत गर्ने हरेक विषय प्रमाणित हुनुपर्छ,’ उनले भने, ‘कुनै विषयमा बोल्दा त्यसको स्रोत, समाचार वा सम्बन्धित भिडियोसमेत राख्नुपर्छ भन्ने कुरा राखेको छु ।’
उनले नेतृत्वलाई पार्टीको डिजिटल प्लेटफर्मलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने तथा सामाजिक सञ्जालमार्फत पार्टीको धारणा राख्दा तथ्य जाँचलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए ।
मधेश प्रदेशबाट ३५ वर्षमुनिबाट केन्द्रीय सदस्य बनेकी ममता शर्माले बैठकमा युवालाई जिम्मेवारी दिएर जनताका वास्तविक समस्या पहिचान गर्न परिचालन गर्ने विषयमा छलफल भएको बताइन् ।
उनले बैठकमा डिजिटल प्लेटफर्म, सूचना प्रविधि र युवालाई स्वरोजगारसँग जोड्ने विषयलाई कांग्रेसले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको बताइन् ।
कांग्रेसका कान्छा केन्द्रीय सदस्य गौरव पाण्डेले बैठकमा पार्टीभित्र युवाको भूमिका थप प्रभावकारी बनाउने र नयाँ पुस्ताका अपेक्षालाई सम्बोधन गर्ने विषयमा छलफल भएको बताए ।
‘आजको छलफलमा युवाले पार्टीभित्र कस्तो भूमिका निर्वाह गर्न सक्छन्, उनीहरूले के चाहेका छन् र नेपाली कांग्रेसबाट उनीहरूको अपेक्षा के छ भन्ने विषयमा केन्द्रित रहेर कुराकानी भयो,’ उनले भने ।
बैठकमा सभापति थापा, महामन्त्रीहरू, पदाधिकारी तथा केन्द्रीय समितिमा रहेका युवा नेताहरूबीच युवाले पार्टीभित्र निर्वाह गर्नुपर्ने भूमिका, उनीहरूका अपेक्षा र पार्टीले युवाका मुद्दालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा विचार आदानप्रदान भएको पाण्डेको भनाइ छ ।
‘सभापतिज्यू, महामन्त्रीज्यूहरू, पदाधिकारी तथा केन्द्रीय समितिमा रहेका युवा र नयाँ पुस्ताका नेताहरूबीच युवाका मुद्दा र पार्टीको आगामी कार्यदिशाबारे विचार आदानप्रदान भयो,’ उनले भने ।
कांग्रेस सभापति थापाले सरकार र रास्वपाका गतिविधिबारे सामाजिक सञ्जालमा धारणा राख्दा तथ्य र प्रमाणमा आधारित हुन पार्टीका केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् ।
केन्द्रीय सदस्य डीबी सुनारले बैठकमा सभापति थापाले सरकारका विभिन्न निर्णय, प्रकरण र घटनाक्रमबारे सूक्ष्म अध्ययन गरेर मात्रै पार्टीका तर्फबाट धारणा सार्वजनिक गर्न निर्देशन दिएको बताए ।
पर्याप्त जानकारी नराखी केन्द्रीय सदस्यका रूपमा प्रस्तुत हुँदा पार्टीको सन्देश कमजोर हुनसक्ने भन्दै सभापतिले अल्पज्ञानका आधारमा धारणा बनाउनुभन्दा तथ्य र सूचनासहित रचनात्मक ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिएको उनको भनाइ छ ।
‘सरकार र रास्वपाले गरिरहेका कामका विषयमा सामाजिक सञ्जालमार्फत तथ्य जाँच गरेर रचनात्मक ढंगले प्रस्तुत हुनुहोस् । सरकारले गरेका विभिन्न प्रकरण र घटनाक्रमबारे सूक्ष्म अध्ययन गर्नुहोस्,’ सभापति थापाको भनाइ उद्धृत गर्दै सुनारले भने, ‘कुनै पनि विषयमा पर्याप्त जानकारी नराखी केन्द्रीय सदस्यका रूपमा प्रस्तुत नहुनुहोस् ।’
छलफलमा युवालाई पालिका तहसम्म जिम्मेवारी दिएर परिचालन गर्ने र तल्लो तहबाट आएका सुझावलाई पार्टीको केन्द्रीय नेतृत्वसम्म पु¥याउने रणनीतिमा जोड दिइएको थियो ।
केन्द्रीय सदस्य आत्रेयले सभापति थापाले ‘बटम टु टप’ र ‘टप टु बटम’ दुवै अवधारणालाई समेटेर पार्टी परिचालन गर्नुपर्ने धारणा राखेको बताए । पालिका तहमा युवालाई जिम्मेवारी दिने र त्यहाँबाट प्राप्त अनुभव तथा सुझावलाई केन्द्रसम्म जोड्ने विषयमा छलफल भएको आत्रेयको भनाइ छ ।
सभापति थापाले बैठकमा युवा परिचालन र डिजिटल अभियानको विषयसँगै आफूविरुद्ध फैलाइएको पक्राउसम्बन्धी हल्ला र आरोपबारे पनि धारणा राखेका थिए ।
उनले आफूले नैतिकता गुमाउने कुनै काम नगरेको स्पष्ट पार्दै पार्टीभित्र भ्रम र आतंक सिर्जना गर्ने प्रयासबाट विचलित नहुन आग्रह गरेका थिए ।
‘सभापतिका रूपमा मैले आफ्नो नैतिक धरातल गुमाएको छैन । अहिले सभापतिलाई प्रहरीले पक्राउ गर्न खोज्दैछ भन्ने खालका भ्रम र प्रचारबाजी गरेर पार्टीभित्र आतंक सिर्जना गर्न खोजिएको छ,’ सभापतिको भनाइ उद्धृत गर्दै नेता सुनारले भने, ‘यस्ता कुराबाट कोही पनि भ्रमित र विचलित हुन आवश्यक छैन । मनोबल उच्च राखेर जिम्मेवारीमा केन्द्रित हुनुहोस् ।’
केन्द्रीय सदस्य पाण्डेका अनुसार सभापति थापाले बैठकमा आफू कुनै पनि अनुसन्धानका लागि तयार रहेको र अनुसन्धानबाट प्रमाण भेटिए कारबाहीको प्रक्रियामा कांग्रेसले अवरोध नगर्ने स्पष्ट पारेका थिए ।
‘सत्ता र शक्ति सरकारसँग छ । प्रहरी प्रशासन र अनुसन्धान गर्ने निकाय पनि सरकारकै मातहत छन् । अनुसन्धान गरे हुन्छ । प्रमाण भेटिए कारबाही गरे हुन्छ,’ सभापति थापाको भनाइ उद्धृत गर्दै उनले भने, ‘संसदीय छानबिन समिति बनाउन किन डराउने? मिडिया ट्रायल र ट्रेन्डको राजनीति गरेर हुँदैन ।’
सभापति थापाले पार्टीका कुनै पनि नेता तथा कार्यकर्ता यस विषयमा अनावश्यक रूपमा विचलित नहुन र आफ्नो जिम्मेवारीमा केन्द्रित हुन निर्देशन दिएको पनि केन्द्रीय सदस्य पाण्डेले बताए ।

