पोखरा । पोखरा महानगरपालिका–३ का वडाध्यक्ष देवकृष्ण पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ । व्यवसायी लेखनाथ सुवेदीले दिएको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मंगलबार महानगरको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन शाखाका प्रमुख इश्वरीप्रसाद पोख्रेलमाथि वडाध्यक्ष पराजुलीले हातपात गरेका थिए । सोही दिन फुटपाथमा सामान राखेको भन्दै व्यवसायी सुवेदीमाथि समेत उनले हातपात गरेको उजुरीमा उल्लेख छ ।
घटनापछि आक्रोशित महानगरका कर्मचारीहरूले बुधबार दिनभर सेवा ठप्प पारेका थिए । उता, व्यवसायी सुवेदीले वडाध्यक्षविरुद्ध प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।