शिक्षा

केएसएल डिजिटल बहसः संयमित र सृजनात्मक सामाजिक सञ्जालमा जोड

केएसएल डिजिटल बहसः संयमित र सृजनात्मक सामाजिक सञ्जालमा जोड

काठमाडौ । सामाजिक सञ्जाल र इन्टरनेटमा बढ्दो विकृति र यसको नकारात्मक प्रवृत्ति नियन्त्रणबारे व्यापक बहस हुन थालेको छ । काठमाडौँ स्कुल अफ ल (केएसएल) ले हालै भक्तपुरमा आयोजना गरेको कार्यक्रममा यसबारे कानुन, प्रशासन, सुरक्षा, मानवअधिकार, मनोविज्ञान, प्रविधि र शिक्षासम्बद्ध विशिष्ट व्यक्तिहरूले आ–आफ्ना दृष्टिकोण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा केएसएल अनुसन्धान विभाग प्रमुख प्रा. प्रदीप पाठकले कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जालको अत्याधिक प्रयोगले मानव सम्बन्ध र सामाजिक व्यवहारमा गम्भीर असर पारिरहेको बताए । बीबीसी, फ्रिडम फोरम र साइबर ब्युरोका तथ्यांक उद्धृत गर्दै उनले डिजिटल प्लेटफर्महरूमार्फत फैलने नकरात्मक भाव भावी पुस्ताका लागि खतरा बनेको धारणा राखे ।
नेपाल खुला विश्वविद्यालयका डिन खगेन्द्र प्रसाईले सामाजिक सञ्जालमा देखिएको विकृति समाजको संरचनात्मक कमजोरीसँग जोडिएको भन्दै समाधान पनि संरचना भित्रै खोज्नुपर्ने बताए । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले डिजिटल अभिव्यक्तिमा कानुनी चेतना अपरिहार्य रहेको बताए ।
विज्ञ कपिल अर्यालले कानुनी पक्षलाई केन्द्रीत गर्दै, नेपाल प्रहरी साइबर ब्युरोमा २०२५ को पहिलो छ महिनामै झण्डै २० हजार उजुरी दर्ता भएको तथ्य प्रस्तुत गरे । उनले १८ वटा कानून कार्यान्वयनमा रहे पनि साइबर अपराधसम्बन्धी स्पष्ट परिभाषा अभावमा समस्या देखिएको बताए ।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक नारायण शर्माले सामाजिक सञ्जाल सत्य विना नै बदनाम गर्ने हतियार भएको बताए । पूर्वसचिव प्रतापकुमार पाठकले नकरात्मकताको असर राजनीतिक र सामाजिक अस्थिरता तथा आत्मबल घटाउने गरी देखिएको भन्दै डिजिटल साक्षरता र जवाफदेहिता बढाउनुपर्ने धारणा राखे ।

इन्टरनेट सेवा प्रदायक, प्रेस काउन्सिल, साइबर ब्युरो र मानवअधिकार आयोगका प्रतिनिधिहरुले प्रत्यक्ष अनुभव सुनाउँदै प्रविधिको प्रयोग संयमित भएर गर्नु आवश्यक रहेको उल्लेख गरे । आत्महत्या दरमा समेत वृद्धि भएको यथार्थ प्रस्तुत गर्दै मानवअधिकार आयोगका सहसचिव यज्ञ अधिकारीले नकरात्मकता नियमन गर्ने चेतनामूलक अभियानको खाँचो औंल्याए ।

मनवअधिकारकर्मी सुदीप पाठकले सामाजिक सञ्जालको सदुपयोग आत्मचिन्तन र जिम्मेवार व्यवहारसँग जोडिएको बताए । अन्तराष्ट्रिय कानूनका ज्ञाता प्रा. डा. युवराज संग्रौलाले सबै सरोकारवालाको सहभागितामा डिजिटल नैतिकता र निगरानी संयन्त्र निर्माणको प्रस्ताव राखे ।

केएसएलका कार्यकारी अध्यक्ष गोविन्द कुसुमले सहकार्य, सतर्कता र सकारात्मक सोचमार्फत मात्र समाजले इन्टरनेटको वास्तविक शक्ति उपयोग गर्न सक्ने बताए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *