काभ्रे । श्री नं २६ वाहिनी अड्डा, भकुण्डेमा सञ्चालित १४औं सैन्य आधार तालिमको दिक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बाहिनीपती सहायक रथी निर्जल बहादुर अधिकारीको उपस्थिति रहेको थियो।सहायक रथी अधिकारीले तालिम सफलतापूर्वक सम्पन्न गरेका ९५ जना सैनिक जवानहरुलाई बधाई तथा शुभकामना दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरे। उनले समारोहमा आयोजित आकर्षक कवाजको समेत निरीक्षण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले नेपाली सेनाको गौरवपूर्ण इतिहास स्मरण गर्दै राष्ट्र र जनताको सेवामा समर्पित भई सेनाको मूल्य, मान्यता र अनुशासनलाई आत्मसाथ गरेर उच्च मनोबलका साथ कर्तव्य निर्वाह गर्न आग्रह गरे।
समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका जवानहरुलाई विशेष पुरस्कार प्रदान गरिएको थियो। नौ महिनासम्म सञ्चालन गरिएको आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका जवानहरु अब विभिन्न युनिटहरूमा खटिने जानकारी श्री नं २६ वाहिनी अड्डाले दिएको छ।
कार्यक्रममा वाहिनी अन्तर्गतका उच्चपदस्थ अधिकृतहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू, दिक्षित सिपाहीहरूको परिवारजन तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।