प्रदेश

गोरखामा १२ बालबालिकालाई कडा कुपोषण र ६१ जनालाइ मध्यम कुपोषण देखिएको जानकारी

गोरखामा १२ बालबालिकालाई कडा कुपोषण र ६१ जनालाइ मध्यम कुपोषण देखिएको जानकारी

सुलीकोट। गोरखाका ११ वटा स्थानीय तहमध्ये दुई वटा पालिका चुमनुब्री र अजिरकोट गाउँपालिका बाहेक अन्य नौ वटा पालिकामा कडा खालको कुपोषणका लक्षण देखिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर परीक्षण गर्दा कुल दुई हजार ८०५ जना बालबालिकामा कुपोषणको लक्षण देखिएको हो।

नौ वटा पालिकामा कुपोषण परीक्षण गर्दा १२ जनामा कडा र अन्य ६१ जना बालबालिकामा मध्यम कुपोषण देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य अधिकृत नवराज खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखा नगरपालिकामा ५७८ जना बालबालिकालाई परीक्षण गर्दा चार जनालाई कडा र चार जनालाई मध्यम प्रकारको कुपोषण देखिएको छ भने पालुङटार नगरपालिकामा ४७२ जना बालबालिकामा कुपोषण परीक्षण गर्दा एक जनालाई कडा र २४ जना बालबालिकालाई मध्यम प्रकारको कुपोषण देखिएको उहाँले बताउनुभयो।

त्यस्तै, आरुघाट गाउँपालिकामा १९२ जना बालबालिकामा परीक्षण गर्दा तीन जनामा कडा र चार जनामा मध्यम गरी सात जना, भिमसेन थापा गाउँपालिकामा १६० जना बालबालिकामा परीक्षण गर्दा चारजनामा कडा र ६ जनामा मध्यम गरी १० जना बालबालिकामा कुपोषण देखिएको कार्यालयले जनाएको छ।

जिल्लाका बारपाक सुलीकोट गाउँपालिकामा १०० जना बालबालिकामा परीक्षण गर्दा दुई जना, धार्चे गाउँपालिकामा ९६ जना बालबालिकामा परीक्षण गर्दा तीन जना, शहिद लखन गाउँपालिकामा दुई सय बालबालिकाको परीक्षण गर्दा ८ जना र गण्डकी गाउँपालिकामा १६० जना बालबालिकालाई परीक्षण गर्दा सात जना सिरानचोक गाउँपालिकामा १०० बालबालिकालाई परीक्षण गर्दा तीन जना बालबालिकालाई मध्यम प्रकारको कुपोषण देखिएको जनस्वास्थ्य अधिकृत खड्काको भनाइ छ।

बालबालिकामा कुपोषणको दर आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा १५ जनामा कडा र ६४ जनामा मध्यम, आव २०७९/०८० मा आठ जनामा कडा र ५५ जनामा मध्यम, आव २०८०/०८१ मा १३ जनामा कडा र ६२ जना बालबालिकामा मध्यम प्रकारको कुपोषण भेटिएको कार्यालय प्रमुख यामप्रसाद शर्माले बताउनुभयो।

‘‘हरेक वर्ष कुपोषणको दर बढ्नु डरलाग्दो अवस्था हो। ’’कार्यालय प्रमुख शर्माले भन्नुभयो, ‘‘जन्मिएको अबस्थामा कम तौलको बच्चा जन्मिने, पोषणयुक्त खानाको अभाव, धूमपानको प्रयोग, जङ्कफुडको प्रयोग र कम पानी खाएपछि कुपोषणको दर बढेको हो।’’

जिल्लामा सबैभन्दा बढी पालुङटार नगरपालिकामा २५ जना बालबालिकामा कुपोषण देखिएको छ । उक्त पालिकामा धेरै कुमाल समुदायको बालबालिकालाई आर्थिक अवस्था कमजोर, चेतनाको अभावले बढी देखिएको कार्यालयले जनाएको छ।

कडा प्रकारको कुपोषणको भएका बालबालिकाको उपचारका लागि प्रत्योक पालिकामा शीघ्र कुपोषण एकीकृत व्यवस्थापन केन्द्र भएकाले बालबालिकालाई रेडी टु युज थेरापेटक फुड, आरयुटीएफ दिएर दुई हप्तापछि पाखुराको नाप जाँच गरिन्छ।

यो आरयुटीएफ प्रयोगपछि ६० देखि ९० प्रतिशत बालबालिकामा कुपोषण कम हुने कार्यालय प्रमुख शर्माको भनाइ छ। 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *