प्रदेश

पश्चिम नेपालको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण र मनसुनजन्य विपद् न्युनिकरणका लागि अपर्याप्त बजेट

पश्चिम नेपालको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण र मनसुनजन्य विपद् न्युनिकरणका लागि अपर्याप्त बजेट

काठमाडौं । पश्चिम नेपालमा गएको भूकम्पबाट क्षति पुगेका संरचनाहरुको पुर्ननिर्माणदेखि मनसुनजन्य विपद् न्युनिकरणका लागि आगामी वर्षका लागि सरकारले छुट्याएको बजेट अपर्याप्त हुने सरकारी अधिकारीहरुले बताएका छन् । 

आगामी वर्षको बजेटमा पूर्वतयारीदेखि पुनःनिर्माण, पुनःस्थापनाका लागि बजेटमा १८ अर्ब ५० करोड मात्रै राखेको छ । यो बजेट पर्याप्त नरहेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुको भनाई छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जाजरकोट भूकम्पको पुनःनिर्माण र मनसुनजन्य विपद् २०८१/८२ र ८३/८४ सम्मको  त्रिवर्षीय योजनाले नै कम्तीमा १ खर्ब बजेट चाहिने बताइसकेको बताउँदै अहिले सरकारले छुट्याएको १८ खर्ब ५० करोड बजेट अपर्याप्त रहेको बताए । 

उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सिमित स्रोतको दायरामा बसेर काम गर्नुपरिरहेको छ । 

सरकारले दिने बजेट बाहेक त्यस्ता विपद्मा प्राधिकरणले सरकारी कोषहरुको समेत परिचालन गर्दै आएको छ ।  सरकारी कोषको रकम खोज उद्धार, राहातमा परिचालन गरिन्छ । अहिले केन्द्र, प्रदेश तथा जिल्ला तहमा रहेका विपद् व्यवस्थापन कोषमा ४ अर्ब ६५ करोड रकम मौज्दात छ । केन्द्रिय विपद् कोषमा १ अर्ब २७ करोड रकम मौज्दात रहेको छ । यो रकम घटबढ भइरहेको हुन्छ । कम्तिमा ५० करोड कोषमा हुनुपर्ने व्यवस्था छ । ५० करोड कम हुन लागेपनि अर्थमन्त्रालयसँग बजेट मागेर कोषमा राख्ने गरिएको छ । 

मागका आधारमा जिल्ला विपद् कोषलाई विपद्का बेला प्राधिकरणले रकम छुट्याउने गरेको छ । त्यसो त, विपद्मा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष, प्रदेश विपद् व्यवस्थापन कोष समेत परिचालन गर्ने गरिएको छ ।  अहिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष १ अर्ब ८९ करोड रुपैयाँ छ भने प्रदेश विपद् व्यवस्थापन कोष ७९ करोड  छ ।

सरकारले वार्षिक बजेटमा उद्धार, राहात, खोजका लागि बजेटमा रकम नछुट्याउने भएकाले यिनै कोषका रकम परिचालन गर्ने गरिएको प्राधिकरणका प्रवक्ता केसीले बताए ।  उनकाअनुसार विपद्मा हेलिकप्टरदेखि यान्त्रहरु चलाउनुपरे यही कोषबाट खर्च गर्नुपर्ने हुन्छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *