मुख्य समाचार

मैले चिनेको वीरेन्द्र भक्त

मैले चिनेको वीरेन्द्र भक्त

. केदार कोइराला

पुस्तक पढेर आँखाबाट आँसु झर्नु संवेदनशीलता हो कि के हो मैले ठम्याउन सकिन, हो, सिनेमाले रूवाउँछ । गीत संगितले भावुक बनाउँछ तर किताबले आँसु झार्छ भन्ने महसुस गरायो वीरेन्द्र दाईको रचनाले । जगदिश घिमिरेको कृति पढ्दा जति भावुक भएको थिएँ वीरेन्द्र दाईको पुस्तकले त रूवाई नै दियो । हुन त दुबै पुस्तकका लेखक मैले संगत गरेकै अग्रजहरू हुन । सम्बन्धका पनि बिविध आयाम हुन्छन तेसै मध्येको आत्मिय  आयाम परेछ कि के हो, वीरेन्द्र भक्त श्रेष्ठ र मेरो चिनजानमा अलि बढी भावुकता थियो नै । वीरेन्द्र दाईसंग मेरो परिचय जेलमा भएको हो । २०४२ सालको सत्याग्रहमा हामी पञ्चायत फालेर प्रजातन्त्र पुनस्थापना गर्न तम्सेका भिजिलान्ते थियौं । प्रजातन्त्र प्रेमी काँग्रेस र उतिवेलाका सर्वहारा कम्युनिष्ट एकै थलोमा उभिएर थालिएको सत्याग्रहले पंचायतको जग हल्लाएकै हो । म नरदेवीमा पर्चा बाँडदै गर्दा पक्राउ परेको थिएँ ।

 
म विशालबजार जनसेवाको छिंडिको चिसोमा रात काटेर भद्रगोल जेलमा पुगेको थिएँ । वीरेन्द्र दाइ काँग्रेसीले भरिभराउ भ्रद्रगोल जेलमा भेटिनु भएको हो । एकाध बामपन्थि बाहेक भद्रगोल जेल काँग्रेसीले भरिभराउ थियो । नौ महिनाको जेल जिवनमा भेटिएका,संगत भएका केही अग्रजहरू त परलोक भैसक्नु भयो । सुशील कोइराला, कृष्णराज बर्मा र वीरेन्द्र दाइ संग मेरो जेल संस्मरण रोचक थियो । उहाँहरू तिनै जनाको भौतिक शरीर छैन,तर उहाँहरू संग बिताएका ती जेल जिवनका पलहरू अहिले पनि मेरो मानसपटलमा ताजै छ । 
लोकले चिन्नेहरू प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, तारानाथ रानाभाट, बालकृष्ण खाँड, मनमोहन भट्टराई, हरिबोल भट्टराई, राजुराज जोशी, गोपाल बुढाथोकी, देव प्रकाश त्रिपाठी, शुरेश आचार्य, जितेन्द्र देव, सम्झनामा आएका तेतिबेला भद्रगोल जेलका मेरा जेलका मित्रहरु हुन । को कहाँ छन त पत्तो छैन,एकाध हस्तिहरू चैं सत्तासुखमा रमिरहेकै छन ।
वीरेन्द्रदाइसंगको मेरो आत्मिय सम्बन्ध जेल भन्दा बाहिर निस्केपछिबड्यो।म कलेज पढ्ने विद्यार्थी कमाई धमाई सुको थिएन । वीरेन्द्र दाईको घर खोज्दै इन्द्रचोक भैरवथान भित्र पुगेर सोधखोज गर्दा दाईको निवास पत्तो लाग्यो । घरमै भेटिनु भयो वीरेन्द्र दाइ, उहाँले भाउजुसंग चिनजान गराउनुभो । बिहानै पुगेको थिएँ यतै खाना खाएर जाउ है भन्नुभो दाईले । खानपिन पछि आफ्नो दुखेसो राखें वीरेन्द्र दाइसँग ।  उहाँले मेरो अप्ठ्यारो फुकाउँदै भन्नुभो, बिहान कलेज जाउ कलेज बाट फर्केर बसपार्कमा पसल छ त्यो खोल अनि खाना खान घर आउनु । वीरेन्द्र दाईले मलाई अभिभावकिय भूमिका निर्वाह गर्नुभएको त्यो क्षणले मलाई छोयो ।  उहाँको कृति पढ्दा मैले आँसु रोक्न सकिन । काठमाडौको रैथाने हुनेखाने परिवारमा जन्मनु भएका वीरेन्द्र दाईको सरलता,करूणा र प्रेमको संगम बुज्नेलाई श्रीखण्ड नबुज्ने लाई खुर्पाको बिंड भनेजस्तै हो । मैले पाएको दाईको मायाँ र सद्भाव मेरो भौतिक शरिरको उपस्थिती रहुन्जेल रहिरहनेछ । कुखुराको भाले निरंकुशता भित्र प्रजातन्त्र खोज्ने प्रतिनिधि संकेत हो । वीरेन्द्र दाईको आत्माले शान्ति पाओन। भावपूर्ण श्रद्धाञ्जली । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *