काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे गृहमन्त्री रमेश लेखकले संसदमा जानकारी दिएका छन् ।
गृहमन्त्रीका अनुसार, सर्वोच्च अदालतको आदेश भन्दै शाखा अधिकृत महिमानसिंह विष्टले चलानी नम्बर १९२७७ सहितको पत्र लिएर प्रहरी महानिरीक्षक दीपक थापासमक्ष पुगेका थिए । परिचयपत्र देखाएपछि आदेश कार्यान्वयनको रूपमा चौधरीलाई डिल्लीबजार कारागारमा पठाइएको हो ।
तर पछि सो पत्र सर्वोच्चको आधिकारिक नभएको स्पष्ट भएपछि चौधरी तत्काल रिहा गरिएको मन्त्री लेखकले बताए । अदालतका नाममा किर्ते पत्र ल्याउने विष्टलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जानकारी पनि उनले दिए ।
गृहमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै प्रहरीले पूर्वाग्रह नराखी कानुनअनुसार मात्रै कार्य गरेको दाबी गरे । यस्ता घटना दोहोरिन नदिन सबै पक्ष सचेत बन्नुपर्ने उनले बताए ।