काठमाडौं । तीनदिने भारत भ्रमणका लागि आज बिहान प्रस्थान गरेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नयाँदिल्ली पुगेका छन्। वाग्लेलाई भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। वाग्लेको नेतृत्वमा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डल भारत गएको हो।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा भएको भ्रमणका क्रममा नेपाल–भारत आर्थिक सहकार्य, विपद्पछिको पुनर्निर्माण, व्यापार तथा लगानी विस्तारका विषयमा छलफल हुने कार्यक्रम छ। भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटमा नेपाल–भारत आर्थिक सम्बन्ध, व्यापार, लगानी, पूर्वाधार तथा हालैको विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोगका विषयमा छलफल हुने बताइएको छ।
वाग्लेले भारतका विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। भारतीय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलसँग समेत भेटवार्ता हुने सम्भावना रहेको छ। भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि नेपालले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक स्रोत जुटाउने प्रक्रिया अघि बढाइरहेको छ। अर्थमन्त्री वाग्लेको भारत भ्रमणलाई विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग र सहकार्यबारे छलफल गर्ने अवसरका रूपमा समेत हेरिएको छ।
भारतमा रहँदा वाग्ले कूटनीति, व्यापार र विकास नीतिसँग सम्बन्धित विभिन्न उच्चस्तरीय छलफलमा सहभागी हुनेछन्। भारतीय उद्योग क्षेत्रका प्रतिनिधिसँग व्यापार तथा लगानी विस्तारबारे छलफल गर्नुका साथै भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानीको वातावरणबारे जानकारी गराउने कार्यक्रमसमेत छ। त्यस्तै, भारतीय उद्योग परिसंघले आयोजना गर्ने कार्यक्रममा वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई सम्बोधन गर्नेछन्। दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास नीतिसम्बन्धी कार्यक्रममा पनि उनी सहभागी हुने कार्यक्रम छ।
भ्रमणका क्रममा विपद् पुनर्निर्माणसँगै नेपाल–भारत व्यापार, लगानी, पारवहन, ऊर्जा र पूर्वाधार सम्पर्क विस्तारका विषय पनि छलफलको एजेन्डामा रहनेछन्। सन् २०१५ को भूकम्पपछि भारतले नेपालको पुनर्निर्माणका लागि एक अर्ब अमेरिकी डलर बराबरको सहयोग प्रतिबद्धता जनाएको थियो। हालको विपद्पछि भने नेपालले आवश्यकता मूल्याङ्कनका आधारमा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि स्रोत जुटाउने प्रक्रिया अघि बढाइरहेको छ। अर्थमन्त्री वाग्ले शनिबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।