सिरहा। सिरहामा रहेको सौर्य सिमेन्ट उद्योगले सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोप स्थानीयहरूले लगाएका छन् । उद्योगका मुख्य गेट र प्लान्ट क्षेत्रमा समेत सार्वजनिक बाटो र सरकारी जग्गा परेको स्थानीयको गुनासो छ । सिमेन्ट उद्योगले सार्वजनिक जग्गा मिचेको विषयमा सरोकारवाला निकायले भने चासो लिएका छैनन् ।
सिरहाको कर्जन्हा–४ र मिर्चैया नगरपालिकाको सिमानामा रहेको सौर्य सिमेन्ट उद्योगले सार्वजनिक जग्गामा अतिक्रमण गर्दै उद्योग परिसर विस्तार गरेको स्थानीयले आरोप लगाएका छन् । उद्योगले सार्वजनिक बाटो मिचेर संरचना बनाएको स्थानीयको दाबी छ । स्थानीयका अनुसार उद्योगका मुख्य गेट र प्लान्ट क्षेत्रका केही भाग साबिक रामपुर बिर्ता–४ र कर्जन्हा–४ (क) का विभिन्न कित्तामा पर्ने सार्वजनिक जग्गामा पर्छ ।
कर्जन्हा र मिर्चैया दुवै नगरपालिकामा रहेको ८४ बिगहा १३ कठ्ठा जग्गा उद्योगको नाममा दर्ता छ । तर, सोही क्षेत्रभित्र पर्ने कर्जन्हा–४(क) को कित्ता नं. ३५३८८ को १ बिगहा १९ कठ्ठा ५ धुर जग्गा भने नापी रेकर्डअनुसार सार्वजनिक सडक रहेको निष्कर्ष छ ।
कर्जन्हा नगरपालिका कार्यालयले भने यसबारे आवश्यक प्रक्रिया अघि बढाउन नापी र जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको बताएको छ ।
उद्योगले भने अतिक्रमणको आरोप असत्य भएको दाबी गरेको छ । उद्योग, स्थानीय र सरकारी निकाय एकै ठाउँमा बस्न नसक्दा सार्वजनिक जग्गा अतिक्रमणको विवाद निरुपण हुन सकेको छैन ।