काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सेनापति काजीकालु पाँडेको सालिकमा माल्यापर्ण गरी श्रद्धासुमन अर्पण गरेका छन्।
चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित समाधिस्थलमा आज आयोजित २६८औँ स्मृति दिवसमा स्थानीय जनप्रतिनिधि लगायतले सालिकमा श्रद्धासुमनसहित पुष्पअर्पण गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पूर्व रथी पवनबहादुर पाँडे, इतिहासविद् राजाराम सुवेदीले स्वर्गीय पाँडेको योगदानका विविध पाटोबारे प्रकाश पारेका थिए। काजी कालु पाँडेले नेपाल एकीकरण अभियानका क्रममा कीर्तिपुरको लडाइँमा वीरगति प्राप्त गरेका थिए ।