प्रदेश

विभिन्न देशमा तस्करी गरिएको १९८ वटा हराएका मूर्ति फिर्ता

विभिन्न देशमा तस्करी गरिएको १९८ वटा हराएका मूर्ति फिर्ता

काठमाडौँ। नेपालबाट विभिन्न देशमा चोरी तस्करी गरेर विदेशमा बेचिएका १९८ मूर्ति स्वदेश फिर्ता भएका छन् । नेपालबाट कुल ४०९ मूर्ति हराएको उजुरी परे पनि १९८ मूर्ति मात्रै फिर्ता भएका हुन् । 

पुरातत्व विभागका शाखा अधिकृत सरिता सुवेदीले विसं। २०४२ देखि गत २०८१ सालसम्म नौ देशबाट १९८ मूर्ति मात्रै फिर्ता गर्न सफल भएको जानकारी दिनुभयो ।

फिर्ता भएका प्रायः मूर्ति ऐतिहासिक र प्राचीन खालका एक सय वर्षभन्दा पुराना सम्पदा भएको उहाँले बताउनुभयो ।

“हामीलाई प्रमाणसहित हराएका मूर्तिको उजुरी ४०९ वटा प्राप्त भएका छन् । यो विभागलाई जानकारी गराएको मात्रै तथ्याङ्क हो,” उहाँले भन्नुभयो, “जिल्ला प्रहरी कार्यालयमा मूर्ति हराएको उजुरी, कतै उजुरी नगरेर बसेकाको सङ्ख्या पनि धेरै हुन सक्छ ।

मूर्ति हराएको यकिन तथ्याङ्क ल्याउन सकिएको छैन ।” नेपालबाट राजनीतिक अस्थिरताका बेलामा थुप्रै मूर्ति विदेश लगेर बेचिएको हुन सक्ने आशङ्का उहाँले गर्नुभयो । 

“नेपालबाट पञ्चायतकाल र त्योभन्दा पहिले धेरै मूर्ति नेपालका तस्करले विदेशी पर्यटकमार्फत बेचबिखन गरे कि भन्ने छ । नेपाली बन्द समाज जब खुला हुँदै गयो, सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको विकास हुन थालेपछि बेचिएका मूर्ति फिर्ता हुन थालेका हुन्,” उहाँले भन्नुभयो ।

नेपाली युरोप, अमेरिकालगायत विभिन्न देशमा अध्ययन, भ्रमण र कामको सिलसिलामा जान थालेपछि ती देशका सङ्ग्रहालयमा राखिएका मूर्ति अवलोकन गर्ने क्रममा पत्ता लाग्ने गरेको उहाँले बताउनुभयो । “पहिला नेपाली प्रायः विदेश जाँदैनथे ।

नेपालका मूर्ति कहाँ कति कस्तो अवस्थामा छन् भन्ने थाहा हुने कुरा भएन,” उहाँले भन्नुभयो, “पछिल्लो समय नेपाली विदेश जान थालेपछि कहाँ कस्ता ऐतिहासिक र प्राचीन सामग्री रहेछन् भनेर हेर्न थाले ।

त्यसपछि सामाजिक सञ्जालमा हाल्ने, नेपाली दूतावासमा सूचना दिन थालेपछि मूर्ति भेटिन थालेका हुन् ।” नेपालबाट हराएका मूर्ति फिर्ता लिन सबै कागजपत्र मिलाउँदा दुई महिनासम्म लाग्ने गरेको अधिकृत सुवेदीले जानकारी दिनुभयो । 

पुरातत्वविद् प्रकाश दर्नालका अनुसार देशको गरिबी र अशिक्षाका कारण लोभमा पारेर तस्करले ऐतिहासिक र प्राचीन मूर्ति बिक्री गर्ने गरेको बताउनुभयो ।

यस्तै अति विशिष्ट व्यक्तिको राम्रोसँग जाँच नहुने भएकाले मूर्ति बाहिर गएका हुन् कि भन्ने अनुमान गरिएको उहाँले बताउनुभयो । “तस्करले पुरातात्त्विक महत्व भएका प्रायः पत्थर, काठ, धातुका मूर्ति, टुँडाल जस्ता सम्पदा बेच्ने गरेको पाइन्छ ।

लिच्छविकालीन, मल्लकालीन, शाहकालीन जो एक सय वर्षभन्दा पुराना मूर्तिहरू चोरी हुने गरेका छन्,” उहाँले भन्नुभयो, “अहिले विभागले एक सय वर्षभन्दा बढी नाघेका मूर्ति बाहिर बिक्री गर्न दिँदैन । एक सय वर्षभन्दा कम भएको प्रमाणित भएपछि मात्रै बिक्री गर्न दिन्छ ।

”पछिल्लो समय प्रायः दरबार, मन्दिरका मूर्ति र ऐतिहासिक सम्पदाको रेकर्ड राख्ने व्यवस्था र सिसिटिभी राख्ने व्यवस्था भएकाले पनि चोरी कम हुँदै गएको उहाँले बताउनुभयो । 

बिस मूर्ति फिर्ता भएनन् । 

पुरातत्व विभागले २० वटा मूर्ति तीन देशमा भएको कागजसहित पुष्टि गरे पनि ल्याउन नसकिएको अधिकृत सुवेदीले जानकारी दिनुभयो । फ्रान्समा १८ वटा मूर्ति, स्विट्जरल्यान्ड र सिङ्गापुरमा एकरएक वटा मूर्ति रहेका छन् । “फेला परेका मूर्ति नेपालबाटै गएका हुन् भन्ने प्रमाणबाट पुष्टि भइसकेको छ ।

स्वदेश फिर्ता ल्याउन सम्बन्धित देशको कानुन बाधक बन्दा ल्याउन सकिएको छैन । ती मूर्ति सम्बन्धित देशको सङ्ग्रहालयमा सुरक्षित राखिएको छ,” उहाँले भन्नुभयो, “नेपालबाट सशक्त रूपमा कूटनीतिकमार्फत दबाब बढाए मात्रै मूर्ति फिर्ता हुन्छ नभए स्वदेश ल्याउन गाह्रो छ ।

”ती प्रायः मूर्ति देवीदेवता, बुद्धका काठ, पत्थर, ढलोट, फलामद्वारा निर्माण गरिएका भएको उहाँले बताउनुभयो । १९१ वटा मूर्ति कहाँ कुन अवस्थामा छ भन्ने पत्ता लगाउन नसकिएको विभागले जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *