Siddarth bankविज्ञापन
समाज

हुम्लामा अज्ञात रोगबाट पशु चौपाया मरे

हुम्लामा अज्ञात रोगबाट पशु चौपाया मरे

काठमाडौं । हुम्लाको मध्यभेकमा रहेको चङ्खेली गाउँपालिका–६ स्थित चरी गाउँमा अज्ञात रोगका कारण पशु चौपाया मर्न थालेका छन् । 

दुई सातादेखि फैलिएको अज्ञात रोगले ६० भन्दा धेरै पशु चौपाया मरिसकेका छन् । अचानक पशुचौपायाको पेट सुनिने, छाती सुनिने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्‍याल छाड्ने, दिसापिसावमा रगत देखिने लक्षणसहितको रोगले अहिलेसम्म चरीगाउँको लामालेखमा १०, जुम्खेलामा ११, क्षेल्दुममा १०, मुन्खेतीमा छ, धुन्देउमा आठ, रातामाटामा नौ र लाङ्गोरमा पाँच वटाभन्दा धेरै गाई, गोरु र बाच्छासमेत मरेका छन् । 

अज्ञात रोग फैलिएकाले अहिलेसम्म चङ्खेली गाउँपालिकाको चरीगाउँका किसानका ६० भन्दाबढी पशु चौपाया मरेपछि यहाँका किसानलाई ठूलो क्षति पुगेको छ । खेतबारी जोत्नका लागि एक हल गोरु जोगाउन पनि धौधौ भएको किसानको भनाइ छ । यो समयमा अधिकांश किसानका पशु चौपाया अहिले लेकतिरको खर्क लिने समय भएकाले पनि लेखमा पशु चौपाया मरेका हुन् । 

अज्ञात महामारीले पशु चौपाया मर्न थालेपछि लेकतिरको जङ्गलसमेत दुर्गन्धित भएको छ । खर्कहरूबाट गाउँघरमा पशु बिरामी भएको खबर आए लगत्तै चङ्खेली गाउँपालिकाको पशु शाखामा औषधिका लागि हप्ता दिन धाउँदा स्वास्थ्यकर्मी नभएको र पशु शाखाको ढोका चौबिसै घण्टा बन्द हुँदा रित्तो हात लिएर फर्किनुपरेको छ । 

गाउँपालिकामा खबर गर्दासमेत औषधि छैन भन्दै कुनै पनि सुनुवाइ नभएको किसान बताउँछन् । चालु आर्थिक वर्ष शुरु भएको समयदेखि गाउँपालिकाबाट बाहिरिएका पशु स्वास्थ्यकर्मी गाउँमा नभएपछि बिरामी परेका पशु चौपायालाई तत्काल उपचार गर्ने व्यवस्था नभएको स्थानीयको भनाइ छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *