महोत्तरी । महोत्तरीको गौशालास्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिजले किसानलाई उपलव्ध गराउँदै आएको अनुदान कटौती गरेपछि विरोध चर्किएको छ ।
उक्त निर्णयको विरोधमा किसानले चिनी उद्योग अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । उखु खेतीमा लगानी बढिरहेको तर, अनुदान भने कटौती गरेको भन्दै किसान सडक आन्दोलनमा ओर्लिएका हुन् ।
उखु उत्पादक कृषक महासंघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाको नेतृत्वमा भेला भएका उखु कृषकहरुले सरकारले गरेको निर्णयको साङ्केतिक रुपमा बिरोध गरेका हुन् । कृषकलाई राहत दिनु पर्नेमा उल्टो अनुदान कटौती गरेर थप पीडा दिएको गुनासो किसानको रहेको छ ।
सरकारले उखु किसानलाई दिंदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि पूर्वनिर्धारित कार्यक्रम अनुसार देशै भरीका किसानले चिनी उद्योग अगाडि प्रदर्शन गरेको अध्यक्ष कुशवाहाले बताए । भदौ ६ गतेसम्म माग पूरा नभए ८ गतेदेखि काठमाडौ केन्द्रित विरोध कार्यक्रम राख्ने जानकारी कुशवाहाले दिए ।
प्रतिक्वीन्टल ७० रुपैयाँका दरले सरकारबाट किसानले पाउदै आएको अनुदान कटौती भएको हो । उखु उत्पादक महासंघका केन्द्रीय सदस्य महाशंकर थिङ्गले कृषकहरुले मंगलबार सांकेतिक रुपमा चिनी उद्योग भएका जिल्लाहरुमा सरकारको निर्णयविरुद्ध टायर बालेर आन्दोलन थालिएको बताए ।
अघिल्लो आर्थिक वर्ष ०८१÷०८२ मा उखुको अनुदान मूल्य प्रति क्वीन्टल ७० रुपैयाँको दरले हुने रकम करिव १ अर्ब ६० करोड रुपैयाँ नेपाल सरकारले भुक्तानी नगरेको र चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेटले पनि यसबारे संवोधन नगरेको गुनासो उनले गरेका छन् ।