नेपालगञ्ज । धार्मिक पर्यटनलाई बढावा दिने र आध्यात्मिक जागरण ल्याउने भन्दै पश्चिम नेपालको शक्तिपिठ वागेश्वरी मन्दिरमा गरिने महाआरतीको श्रृङ्खलालाई निरन्तरता दिइएको छ ।
२०७९ माघ १५ गते देखि महाआरतीको श्रृङ्खलालाई निरन्तरता दिदै यही साउन महिनाको तेश्रो र चौथो संस्करणलाई भव्य बनाईने भएको हो ।
नेपाल र भारतका हिन्दुधर्मालम्बी हरुलाई नेपालगंजमा रहेको शक्तिपिठ बागेश्वरी मन्दिरको महिमाका बारेमा जानकारी गराउने र महाआरतीको माध्यमबाट धार्मिक पर्यटनलाई जोड्न यो साउन महिनाको तेश्रो र चौथो श्रृङखलालाई विशेष बनाउन लागिएको हो ।
लुम्बिनी, कर्णाली र सुदुरपश्चिम देखि भारतका प्रसिद्ध सहरबाट समेत श्रद्धालुहरुलाई अझ आकर्षित गर्न महाआरती महत्वपूर्ण भएको छ । नेपालगंज स्थित वागेश्वरी मन्दिरको महत्व र धार्मिक पर्यटनलाई जोड़न महाआरतीको १३२ र १३३ औं श्रृङ्खलालाई भव्य बनाउने भन्दै आगामी दिनमा भारतका २० भन्दा बढी मन्दिरका मठाधिश र सञ्चारकर्मीलाई बोलाएर वागेश्वरी मन्दिरको महिमाका बारेमा चर्चा गर्ने तयारी छ ।
साउनको अन्तिम सोमबार अर्थात १३३ औं श्रृङ्खलामा उपस्थित हुने सबै भक्तालु श्रद्धालु हरुलाई रुद्राक्षको माला समेत वितरण गर्ने आयोजकले जनाएको छ ।