ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवनमा प्रतिवन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सूचना जारी गर्दै पवित्र धार्मिक पर्यटकीय स्थललाई शान्त र स्वच्छ राख्नका लागि मदिरा बिक्री र सेवन पूर्ण रूपमा निषेध गरिएको जनाएको हो । धार्मिक महत्व बोकेको स्थलको पवित्रता जोगाउन र पर्यटकलाई स्वच्छ वातावरण उपलब्ध गराउन यस्तो निर्णय गरिएको समितिले जनाएको छ । फेदी, बलुडाँडा, काफ्लेपाटी लगायतका स्थानमा रहेका होटल तथा व्यवसायीलाई मदिरा बिक्री नगर्न आग्रह गरिएको छ । पछिल्लो अनुगमनका क्रममा केही मदिराजन्य वस्तु भेटिएकाले समितिले पुनः प्रतिबन्धबारे कडा सूचना जारी गरेको हो । समितिले निर्णय कार्यान्वयन नगरी मदिरा बिक्री वा सेवन गरेर धार्मिकस्थलको वातावरण प्रदूषित गर्नेहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ । डेढ वर्षअघि सुरु गरिएको प्रतिबन्ध योजनालाई हाल पुनः कार्यान्वयनमा ल्याइएको समितिले उल्लेख गरेको छ । अहिले पाथीभरा दर्शनको मुख्य सिजन भएकाले धाममा भक्तजनको भीड बढेको समितिको भनाइ छ ।