समाज

सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै छ । 

हरेक वर्षको असोज १ गते सुदूरपश्चिमका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा ‘बुढी पोल्ने’ पर्व मनाइन्छ । भदौ १ गतेका दिन बिच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाँगाबिँगा काटेर पूतना बुढी अर्थात् राक्षस पूतनाको प्रतीक बनाइएको हुन्छ । 

त्यो प्रतीकलाई असोज संक्रान्तिका साँझ गाउँका सबै मिलेर जलाउने गरिन्छ । जसलाई स्थानीय भाषामा बन्दुनी जलाउने भनिन्छ । बन्दुनी जलाउने ठाउँमा आ–आफ्नो बारीमा फलेका काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले थु–थु गर्ने चलन छ ।

यसैगरी लुतो फाल्ने पनि गरिन्छ । यसै गरी बुढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ । कंसद्वारा पठाइएकी राक्षस पूतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व मनाउने प्रचलन रहेको बताइन्छ । 

पहिले पहिले यो दिन रातभर देउडा खेल्ने चलन रहेपनि अहिले हराउँदै गएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *