काठमाडौ । दुई दिने जेनजी आन्दोलनपछि अस्तव्यस्त बनेको काठमाडौँ उपत्यकाको जनजीवन बिस्तारै सामान्यतर्फ फर्कन थालेको छ । नेपाली सेनाले निषेधाज्ञा हटाएको समयमा काठमाडौँ उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल अघिल्ला दिनहरुको तुलनामा उल्लेख्य रुपमा देखिन थालेका छन् । निषेधाज्ञा हटेको समयमा उपत्यकाका सडकहरुमा सवारी साधनहरुको चाप बढ्नुका साथै अधिकांश पसलहरु खुल्न थालेका छन् । तर, लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधन भने नचल्दा सास्ती खेप्नु परेको सर्वसाधारणको गुनासो छ ।
सर्वसाधारण र व्यवसायीहरुले अहिलेको अवस्थालाई सम्वन्धित सबै पक्षले मिलेर चाँडोभन्दा चाँडो निकास दिनुपर्ने बताएका छन् । समस्या समाधानमा ढिलाई भए जीवन यापनमै समस्या पर्ने उनीहरुको चिन्ता छ ।
नेपाली सेनाले अत्यावश्यक कामका लागि छुट्याइएको समय दैनिक उपभोग्यलगायत आवश्यक सामग्री किनमेल एवं धार्मिक–सांस्कृतिक परम्परा अवलम्वनका लागि हिँडडुल गर्न, कर्मचारीहरू कार्यस्थलसम्म जान र फर्कन एवं जरुरी पर्नेलाई मात्र रहेको जनाएको छ । सो समयमा पनि जुलुस, धर्ना र प्रदर्शनलाई भने निषेध गरिएको छ ।