काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायमै राखेका छन्।
प्राप्त पछिल्लो मतगणना विवरणअनुसार उपसभापति (खुला) तर्फ डा. भण्डारीले १०५७ मत प्राप्त गरेका छन् ।
ई. मधु आचार्यले ७१२ मत पाएका छन् । त्यस्तै, सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३७१ र प्रा.डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्।
उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ६१५ मतसहित अग्रता लिएका छन्। जीवन परियारले ५७८ मत प्राप्त गर्दा सीता गुरुङले ३३४, फरमुल्लाह मंसुरले २८५ र रंजीत कर्णले १८३ मत पाएका छन्।
महामन्त्रीमा पौडेलको अग्रता कायमै
केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले सबैभन्दा बढी १३८१ मत प्राप्त गरेका छन् ।
उदयशम्शेर राणा ७८६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । यसअघि उनी अमरसिंह पुन मगरभन्दा पछि परेका थिए । अमरसिंह ६९५ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।
निर्वाचन समितका अनुसार डा. सुनीलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैन सिंह महरले २७० मत प्राप्त गरेका छन्।
त्यस्तै, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत पाएका छन्। प्राप्त विवरणअनुसार खुला महामन्त्री पदमा पौडेल अन्य प्रतिस्पर्धीभन्दा अगाडि देखिएका छन्।
केन्द्रीय महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले ९६५ मत प्राप्त गर्दै अग्रता लिएकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ मत प्राप्त गरेकी छन् भने रीता खनालले २५१ मत पाएकी छन्।
