काठमाडौँ । गोरखाको बुढीगण्डकीमा बाढी आउनु अघि पहिरोले नदी थुनिएर बनेको ड्याम फुटेको देखिएको छ । बाढीको मुख्य प्रभावित ठाउँमा पुगेका सुरक्षाकर्मीहरूका अनुसार बुढीगण्डकीमा मिसिने उइनगुलुङ खोला सुरुमा थुनिएको थियो ।
आइतबार बिहान साढे ५ बजेतिर ठुलो आवाज सहित सिरिङ्गे हिमालमा पहिरो खसेको भनेर स्थानीय होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर आकाश कँडेलका अनुसार सो खबर पाएसँगै तत्काल चुनचेतबाट प्रहरी परिचालन गरिएको थियो ।
प्रहरीहरू अहिले पहिरोले ड्याम बनाएर फुटेको क्षेत्रमा पुगेका छन् । सो स्थानबाट बाढीले ५ वटा भेडिगोठ बगाएको इन्स्पेक्टर कँडेलले जानकारी दिए । ड्याम बनेको ठाउँ चुमनुब्री गाउँपालिका वडा नम्बर–६ स्थित लोक्पा र चुम्लिङको बिचमा पर्छ । उइनगुलुङ खोला बुढीगण्डकीमा आएर मिसिन्छ । पहिरोका कारण बनेको अस्थायी बाँध भत्किएपछि सोही स्थान हुँदै बग्ने बुढीगण्डकीमा लेदो र गेग्रान सहितको बाढी आएको इन्स्पेक्टर कँडेलले बताए ।
विपद् क्षेत्रमा सैनिक अधिकारीहरूले पनि निरीक्षणपछि गरेका छन् । हेलिकप्टरबाट निरीक्षणपछि सैनिक अधिकारीहरूले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पहिरोका कारण नदीको बहाव थुनिएपछि बाढी आएको रिपोर्टिङ गरेका छन्।
