काठमाडौं । सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मिथिला क्षेत्रका आमाहरूले आज जितिया व्रत बस्दैछन् ।
शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ दर खाएसँगै सन्तानवती मिथिलाका नारीले निराहार व्रत शुरु गरेका हुन् । आश्विनकृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ ।
शनिबार मध्यरातपछि तत्काल अष्टमी तिथि नलागे पनि व्रतको दिन शुुरु भएको हुँदा मिथिलानीले ‘ओगटन’ पछि उपवास शुरु गरिएको हो । पतृपक्षमा पर्ने यस पर्वमा वर्तालुले सप्तमी तिथिका दिन पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रत सङ्कल्प गरेर चोखो खाने चलन छ ।
सोही दिन वर्तालुले पवित्र जलाशयमा नुहाएर सूर्यदेवलाई तोरीको तेल, पिना र आँपको अचार अघ्र्यस्वरुप चढाउँछन् । योसँगै वर्तालुले दिवङ्गत सासू, बूढीसासू, ज्यामै सासू र जेठानीदेवरानी र मातृकूललाई स्मरण गर्दै व्र्रत पूरा गर्न आशिष र आफ्ना सन्तानको कल्याणका लागि पुकारा गर्छन् ।
सोह्रश्राद्धमा छोराहरूले आफ्ना पितृलाई तर्पण र पिण्ड दिएर सम्झना गरेजस्तै जितियाका वर्तालुले तीन पुस्ताभित्रका दिवङ्गगत आफन्त महिलालाई तर्पण दिन्छन् । सोही दिन राति ‘ओगटन’ खाएपछि व्रत शुरु गरिन्छ ।
निष्ठा र श्रद्धापूर्वक गरिने जितिया व्रतको प्रभावले सन्तानको कल्याण हुनेसँगै आमाहरूलाई सन्तानले अत्यन्त सुख दिने विश्वास गरिन्छ ।