काडमाडौं । भारतको राजधानी नयाँदिल्लीमा कक्रोच जनता पार्टी (सिजेपी) को प्रदर्शन रोक्न प्रहरीले आइतबार पनि सुरक्षा कडाइ गरेको छ। प्रदर्शनकारीले लगातार दोस्रो दिन आन्दोलन गर्ने घोषणा गरेपछि प्रहरीले जन्तरमन्तर बन्द राखेको छ भने राजधानीका सीमामा अवरोध खडा गरेको छ।
सवारी आवागमन व्यवस्थापन गर्न ३० स्थानमा डाइभर्सनको व्यवस्था गरिएको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले लेखेको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त ज्ञानेश कुमारले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने सिजेपीका नेताहरूले बताएका छन्।
शनिबार दिल्लीका विभिन्न स्थानबाट करिब सात हजार प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको अनुमान छ। प्रदर्शनको नेतृत्व गरिरहेका अजिंक्य सिन्धेले पार्टीका नेता अभिजित दिप्के, सौरभ दास र आशुतोष रंकालाई नियन्त्रणमा लिए पनि आन्दोलन नरोकिने बताएका छन्।
‘सरकारले अभिजित दिप्के, सौरभ दास र आशुतोष रंकालाई नियन्त्रणमा लिएपछि हामी पछि हट्छौँ भन्ने सोचेको थियो। तर हामी पछि हट्ने छैनौँ। ज्ञानेश कुमारले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्नेछौँ,’ सिन्धेले भने। सिजेपी नेताहरूलाई दिल्ली प्रहरीले आज मात्रै छाडेको छ।
४० हजार सुरक्षाकर्मी परिचालन
प्रदर्शनकारीलाई जन्तरमन्तरमा भेला हुन वा नयाँदिल्लीमा प्रवेश गर्न नदिन प्रहरीले प्रयास गर्ने अधिकारीहरूले बताएका छन्। अवस्था हेरेर मुख्य सडकमा सवारी आवागमनसमेत नियमन गरिनेछ। शनिबार दिल्लीभर ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो।
तीमध्ये २६ हजार अतिरिक्त सुरक्षाकर्मी थिए। सन् २०२० को फेब्रुअरीपछि दिल्लीमा गरिएको यो सबैभन्दा ठूलो सुरक्षा परिचालन भएको समाचारमा उल्लेख छ।
हरियाणा र उत्तर प्रदेशसँग जोडिएका चिल्ला, गाजीपुर, अप्सरा र सिंघु नाकामा प्रहरीले दुई तहका अवरोध खडा गरेको छ। ती स्थानमा आइतबार पनि स्थानीय प्रहरी र अर्धसैनिक बल परिचालन गर्न लागिएको हिन्दुस्तान टाइम्सले लेखेको छ।
मेट्रो र रेल सेवा सामान्य हुँदै
सुरक्षा कडाइ जारी रहे पनि मेट्रो र रेल सेवामा लगाइएका प्रतिबन्ध भने हटाइएको छ। दिल्ली मेट्रो रेल कर्पोरेसनले शनिबार राति करिब १० बजे सामाजिक सञ्जालमार्फत सबै मेट्रो स्टेसनका प्रवेश तथा निकास द्वार पुनः खोलिएको जनाएको छ।
रेल सेवामा लगाइएको प्रतिबन्ध शनिबारसम्मका लागि मात्र रहेको उत्तर रेलवेका प्रमुख जनसम्पर्क अधिकारीले बताएका छन्। तर, सडकमा सवारी आवागमनसम्बन्धी प्रतिबन्ध भने कायम रहनेछ।
दिल्ली ट्राफिक प्रहरीले आइतबार बिहान ६ बजेदेखि शनिबारकै ३० स्थानमा अवस्था हेरेर सवारीसाधनको मार्ग परिवर्तन गर्ने जनाएको छ। यसैबीच, सर्वोच्च अदालतले मेट्रो र रेल सेवा पूर्ण रूपमा बन्द गरेर अदालतको आदेश उल्लंघन गरिएको आरोपसहित दायर निवेदनमा आइतबार विशेष सुनुवाइ गर्ने भएको छ।
विपक्षी गठबन्धनको सोमबार प्रदर्शन
यसैबीच, विपक्षी दलहरूको इन्डिया गठबन्धनले सोमबार छुट्टै प्रदर्शन गर्ने घोषणा गरेको छ। विपक्षी दलका शीर्ष नेताहरूले सर्वोच्च अदालतसम्म मार्च गर्दै विशेष गहन पुनरावलोकन (एसआइआर) र निर्वाचन आयोगसँग सम्बन्धित मुद्दाको सुनुवाइ छिटो गर्न आग्रह गर्ने भएका छन्।
पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी शनिबार दक्षिण एभिन्युमा रहेको तृणमूल कांग्रेसका सांसद अभिषेक बनर्जीको निवासबाहिर मौन प्रदर्शन गर्ने क्रममा नियन्त्रणमा परेकी थिइन्। उनलाई प्रहरीको बन्दी वाहनमा द्वारका लगिएको थियो।
बनर्जीले सोमबारको मार्चमा सहभागी हुन राहुल गान्धीले आफूलाई दिल्लीमै बस्न आग्रह गरेको बताएकी छन्।
सिजेपीका कानुनी प्रमुख रत्ना सिंहका अनुसार पार्टीका नेता अभिजित दिप्के, आशुतोष रंका र सौरभ दासलाई आइतबार दिल्ली क्यान्ट प्रहरी कार्यालयमा कार्यकारी मजिस्ट्रेटसमक्ष उपस्थित गराएपछि रिहा गरिएको छ। प्रदर्शनअघि नियन्त्रणमा लिइएका युट्युबर ध्रुव राठी पनि शनिबार राति रिहा भएका थिए।
