काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीलाई व्यवस्थित गर्ने गरी अघि बढ्न सरकार सहकारी ऐन परिवर्तन गर्न तयार रहेको बताएका छन् ।
आज नेपाल सहकारी पत्रकर समाजको आयोजनामा भएको संस्थाको १५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा कति सहकारीहरु सञ्चालन भइरहेका छन्, कति सहकारी के उद्देश्यले सञ्चालन भएका हुन् भन्नेबारेमा यकिन तथ्यांक नरहेको जिकिर गरेका हुन् ।
दर्ता भएका कतिपय सहकारीहरुको नाम निशान नै नरहेको भन्दै मन्त्री अधिकारीले त्यसलाई नियमन र नियन्त्रण गर्न सरकारले अहिले वचतको सीमा राखेको, ऋणको सीमा राखेको जानकारी समेत दिए ।
मन्त्री अधिकारीले सहकारीमा बेथिति आएकाले केही समय नियन्त्रण गर्नुपर्छ भनेरै सरकार लागिरहेको समेत बताए । सहकारी ठिक ठाउँमा आएपछि सहकारी खुला गर्न सकिने उनको भनाइ छ ।
मन्त्री अधिकारीले अफ्ठ्यारा कुरालाई फुकाउँदै जानुपर्ने अहिलेको आवश्यकता भएको पनि उल्लेख गरे ।