काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीले सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एसिया एलायन्स २०२५ सम्मेलनको अवसरमा बिल गेट्ससँग भेट गरेका छन् ।
भेटमा दुबैबीच नेपालको स्वास्थ्य सेवा र रोजगारीका प्रमुख चुनौतीबारे गम्भीर छलफल भएको चौधरीले जानकारी दिएका छन् । उनले गेट्स फाउन्डेसनप्रति भूकम्प र कोभिड महामारीको बेलामा गरेको सहयोगका लागि आभार प्रकट गर्दै भविष्यमा सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरेका छन् ।
गेट्स फाउन्डेसनले अन्य देशहरूमा सफल भएका स्वास्थ्य तथा रोजगारी कार्यक्रम नेपालमा पनि सञ्चालन गर्ने विषयमा छलफल भएको चौधरीले बताएका छन् ।
भूकम्पपछिको पुनर्निर्माणदेखि कोभिडको समयमा स्वास्थ्य सामग्री वितरणसम्म चौधरी फाउन्डेसनले खेलेको भूमिकाको चर्चा गर्दै सम्मेलनमा चौधरीको सहभागिता उल्लेखनीय रह्यो ।
सम्मेलनमा गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्स, डब्लुएचओ प्रमुख डा. टेड्रोस, सिङ्गापुरका राष्ट्रपति शनमुगरत्नमलगायत विश्वका प्रतिष्ठित नेताहरूको उपस्थिति थियो ।